काठमाडौं। फागुन २१ गते हुने प्रतिनिधि सभाको निर्वाचनका लागि आचार संहिता लागू भइसकेको छ। आचार संहिता लागू भएसँगै कर्मचारीहरु नयाँ नियुक्ति, सरुवा, बढुवा गर्न पाइँदैन।
यसकै प्रभाव स्वरुप हवाई उड्डयन क्षेत्रको नियामक निकाय नेपाल नागरिक उड्डयन प्राधिकरण र राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगमले तत्कालै प्रमुख नपाउने भएको छ। योसँगै दुई वटा महत्वपूर्ण निकाय कार्यवाहककै भरमा सञ्चालनमा आउने निश्चित भएको छ।
हेलिपोर्ट निर्माणको क्रममा भ्रष्टचार गरेको अभियोगमा प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुद्दा दायर गरेसँगै निलम्बनमा परेका थिए। निलम्बनमा परेका महानिर्देशक अधिकारीको कार्यकाल माघ १७ गतेबाट सकिँदै छ। कार्यकाल अवधी नसकी मुद्दा दर्ता मात्र हुँदा सरकारले चार वर्षका लागि नयाँ महानिर्देशक नियुक्त गर्न सकेको छैन।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले पुस ४ गते मन्त्री स्तरीय निर्णय गर्दै प्राधिकरणका उपमहानिर्देशक रहेका देव चन्द्रलाल कर्णलाई निमित्त महानिर्देशकको जिम्मेवारी दिइएको छ। माघ १७ पछि उनै निमित्त महानिर्देशकलाई पूर्ण जिम्मेवारी दिने आशा धेरैले गरे पनि निर्वाचन आचार संहिता लागू भएसँगै कम्तीमा चैतसम्म नयाँ महानिर्देशक पाउने अवस्था नरहेको प्राधिकरणका एक उच्च अधिकारीको भनाइ छ।
महाप्रबन्धक नियुक्तिमा उमेर हद तोकेको विषयमा अदालतमा मुद्दा परेपछि एक महिनाभन्दा बढी समय अल्झिएको थियो।
निमित्त महानिर्देशकको मात्र जिम्मेवारी दिँदा प्राधिकरणले जुन गतिमा काम गर्नुपर्ने हो। त्यो हुन नसकेको जनाएको छ। हस्तारक्षर गर्दा कुन बेला मुद्दा परिन्छ भन्ने थाहा नहुने स्थिति रहेकाले निमित्त महानिर्देशक कर्णले कुनै पनि खालका निर्णयहरु अहिले गर्न आनाकानी गर्दै आएको प्राधिकरण श्रोतको भनाइ छ।
वायुसेवा निगममा उस्तै व्यथा
चार वर्षे कार्यकाल पूरा गरी कार्यकारी अध्यक्ष युवराज अधिकारी बिदाई भएपछि हालसम्म निगममा महाप्रबन्धक नियुक्त हुन सकेको छैन। तत्कालिन समयमा पर्यटन मन्त्रालयको समेत जिम्मेवारी सम्हालेकी प्रधानमन्त्री सुशीला कार्कीले पहिलो पटक खुल्ला प्रतिस्पर्धामार्फत महाप्रबन्धक नियुक्त गर्ने तयारी अगाडि बढाएपछि उमेर हदको विषयमा लिएर अदालतमा मुद्दा परेको थियो।
महाप्रबन्धक नियुक्तिमा उमेर हद तोकेको विषयमा अदालतमा मुद्दा परेपछि एक महिनाभन्दा बढी समय अल्झिएको थियो। आचारसंहिता लागू हुनुपूर्व मात्र सर्टलिष्ट सार्वजनिक गरे पनि निर्वाचनअघि नियुक्त हुने सम्भावना न्यून रहेको बताउँछन्।
अहिले निगममा कार्यकारी सञ्चालकको रुपमा अमृतमान श्रेष्ठले काम गरिरहेका छन्। पूर्ण रुपमा जिम्मेवारी नभएको भन्दै कार्यकारी सञ्चालक श्रेष्ठले पनि निगममा कुनै निर्णयहरु गरेका छैनन्।