काठमाडौं। फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत पहिलो हुने निर्वाचित प्रणालीतर्फ उम्मेदवारहरूको मनोनयन दर्ता प्रक्रिया मंगलबार उत्साहजनक तथा शान्तिपूर्ण रूपमा सम्पन्न भएको छ। माघ ६ गते साँझ ६ बजेसम्म देशभरका सम्बन्धित मुख्य निर्वाचन अधिकृत तथा निर्वाचन अधिकृतको कार्यालयमा गरी कुल २ हजार ९२५ उम्मेदवारी दर्ता भएको छ।
मनोनयन प्रक्रिया सफलतापूर्वक सम्पन्न भएको भन्दै कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले राजनीतिक दल, उम्मेदवार तथा सरोकारवाला सबैलाई धन्यवाद व्यक्त गरे। उनले निर्वाचनका बाँकी चरणहरूमा पनि यस्तै सहयोग, संयम र जिम्मेवारी अपेक्षा गरिएको बताए।
निर्वाचन आयोगका सचिव कृष्ण बहादुर राउतका अनुसार दर्ता भएका उम्मेदवारीमध्ये ३३६ जना महिला र २ हजार ५८९ जना पुरुष रहेका छन्। यस्तै, अपाङ्गता भएका व्यक्तिबाट ८५ र पीछडिएको क्षेत्रबाट १३८ जनाको उम्मेदवारी परेको आयोगले जनाएको छ। यसले समावेशी सहभागिताको अभ्यास निर्वाचन प्रक्रियामा क्रमशः विस्तार हुँदै गएको संकेत गरेको सचिव राउतले बताए।
निर्वाचन आयोगका अनुसार मनोनयन दर्तासम्बन्धी प्रारम्भिक विवरण मंगलबार राति सार्वजनिक गरिनेछ। निर्वाचन कार्यक्रमअनुसार मनोनयन दर्ता भएका उम्मेदवारविरुद्ध उजुरी दिने अवधि माघ ७ गते बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म रहनेछ।
सोही दिन दिउँसो ३ बजेदेखि माघ ८ गते बेलुका ५ बजेसम्म मनोनयन पत्र र उजुरीमाथि जाँचबुझ तथा निर्णय हुनेछ। माघ ८ गते बेलुका ५ बजेदेखि ७ बजेसम्म उम्मेदवारहरूको नामावली प्रकाशन गरिने आयोगले जनाएको छ।
त्यसैगरी, माघ ९ गते बिहान १० बजेदेखि दिउँसो १ बजेसम्म उम्मेदवारले नाम फिर्ता लिन सक्ने छन्। सोही दिन दिउँसो १ बजेदेखि ३ बजेसम्म अन्तिम नामावली प्रकाशन गरिनेछ। दिउँसो ४ बजेदेखि साँझ ७ बजेसम्म उम्मेदवारहरूलाई निर्वाचन चिन्ह प्रदान गरिने कार्यक्रम रहेको छ।
निर्वाचन आयोगले निर्वाचनलाई निष्पक्ष, शान्तिपूर्ण र विश्वसनीय रूपमा सम्पन्न गर्न सबै पक्षबाट निरन्तर सहयोगको अपेक्षा गरेको छ।