काठमाडौं। नेपाल निर्माण व्यवसायी महासंघको माघमा हुने अधिवेशन अन्यौलमा देखिएको छ। आउँदो फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचन आचार संहिता लागू भएसँगै महासंघको अधिवेशन अन्यौल देखिएको हो।
महासंघले यही माघ १५, १६ र १७ गते आयोजना हुने अधिवेशन मिति निर्वाचन मिति हुनुअगावै तय भएको थियो। भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनका कारणले फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचन हुने भएसँगै महासंघको अधिवेशन हुने नहुनेमा अन्यौलता देखिएको छ।
महासंघको चुनावी तालिकाअनुसार माघ १५ गते उद्घाटन, १६ गते मनोनयन दर्ता र १७ गते मतदानको कार्यक्रम तय भएको छ। तर आफूहरुले कार्याक्रम आयोजना गर्ने वा नगर्ने निर्वाचन आयोग नेपालको आदेशको पखाईमा रहेको अध्यक्ष रवि सिंहले बताए।
‘निर्वाचन आचार संहिता लागू भएको तर हामीले पहिले नै मिति तय गरेका हुनले यो अधिवेशन हुने वा नहुने आयोगको आदेशको पखाईमा छौँ,’ सिंहले भने।
आउँदो साता हुने महासंघको चुनावी मैदानमामुख्य गरी दुई प्यानलउत्रिने छन्। महासंघको १५औं महाधिवेशन काठमाडौंमा हुने सम्पूर्ण तयारी भैसकेको अध्यक्ष सिंहले जनाए। यदि, महाधिवेशन भएमा महासंघका लागि नयाँ नेतृत्व चुनिने छ।
महाधिवेशन प्रतिनिधिबाट चुनिने नयाँ नेतृत्वका लागि अहिले अध्यक्ष बन्न सल्लाहकार निकोलस पाण्डे र वरिष्ठ उपाध्यक्ष आङदोर्जे (एडी) लामाबीच प्रतिस्पार्ध हुने भएको छ।
यसअघि अध्यक्ष बन्न सल्लाहकार पाण्डे, वरिष्ठ उपाध्यक्ष लामा र महासचिव रोशन दाहाल आकांक्षी देखिएका थिए। तर, तीन वटा प्यानल बन्ने चर्चा चले पनि हाललाई महासचिव दाहाल र लामाको समूह मिलेर एउटै प्यानल बनेपछि अब मुख्य प्रतिस्पर्धा दुई समूहबीच हुने देखिएको छ।
महासचिव दाहाल लामालाई अध्यक्ष बनाउने सर्मथन गर्दै वरिष्ठ उपाध्यक्षमा दाहालले उम्मेद्वारी दिने भएका छन्। यस्तै, लामा प्यानलमा आगामी नेतृत्वका लागिमहासचिव पदमा शिवहरि घिमिरे, कोषाध्यक्षमा बालाजु श्रेष्ठ चुनावी मैदानमा उत्राने महासंघ स्रोतले जनाएको छ।
सल्लाहकार पाण्डेको प्यानलमा वरिष्ठ उपाध्यक्ष पदमा मुकेश पन्त, महासचिव पदमा मंगल शाही र कोषाध्यक्षमा उज्ज्वल गौतम आगामी नेतृत्वका लागि उम्मेदवारी दिने तयारी गरेका छन्।
महासंघ निर्वाचन मिति नजिकिएसँगै आगामी नेतृत्वका आकांक्षीको सक्रियता बढेको छ। महाधिवेशनमा दुई हजार बढीको जमघट हुने महासंघले जनाएको छ। यस पटकको साधारणसभामा देशभरबाट करिब १ हजार ५५० जना मतदाता काठमाडौंमा सहभागी हुने छन्।
महाधिवेशन अवसर पारेर निर्माण सामग्रीको प्रदर्शनी तथा स्टलसमेत राखिने छन्। महासंघमा हालका अध्यक्ष सिंहको दोस्रो कार्यकालपछि नयाँ नेतृत्व चुनिन लागिएको हो।