काठमाडौं। नेपाल आयल निगम लिमिटेडले मध्यपूर्वमा देखिएको तनावपूर्ण अवस्थाका कारण भविष्यमा आपूर्तिमा प्रभाव पर्न सक्ने सम्भावनालाई ध्यानमा राख्दै पेट्रोलियम पदार्थ तथा ग्यास अनावश्यक रूपमा भण्डारण नगर्न उपभोक्तालाई आग्रह गरेको छ।
निगमका प्रवक्ता मनोज ठाकुरले जारी गरेको प्रेस विज्ञप्तिमा हालसम्म मध्यपूर्वमा देखिएको समस्याको प्रत्यक्ष प्रभाव नेपालमा नपरेको उल्लेख गरिएको छ। यद्यपि, विश्वका कतिपय मुलुकले पेट्रोलियम पदार्थको प्रयोग र बिक्री वितरणमा सुरक्षात्मक उपाय अपनाउन थालेकाले नेपालले पनि खपत व्यवस्थापनमा सावधानी अपनाउन आवश्यक भएको निगमले जनाएको छ।
निगमले उपभोक्तालाई आवश्यक परिमाणमा मात्र पेट्रोलियम पदार्थ तथा एलपी ग्यास खरिद र प्रयोग गर्न, मासिक एक सिलिन्डर खपत हुने अवस्थामा अतिरिक्त सिलिन्डर नभर्न र अनावश्यक भण्डारण नगर्न अनुरोध गरेको छ।
साथै सम्भव भएसम्म ग्यासको सट्टा विद्युतको प्रयोग बढाउन, सवारी साधनमा राइड सेयरिङको अभ्यास गर्न तथा विद्युत उत्पादनका लागि जेनेरेटर प्रयोग नगर्न पनि आग्रह गरिएको छ।
त्यसैगरी उद्योगहरूलाई पनि पेट्रोलियम पदार्थ तथा एलपी ग्यासको खपत घटाउन निगमले अनुरोध गरेको छ। निगमका अनुसार इन्धन तथा ग्यासको आयात र बिक्री वितरण नियमित रूपमा भइरहेको छ र आगामी दिनमा पनि निरन्तर रहनेछ। तर विश्व बजारमा पर्ने सम्भावित प्रभावबाट नेपाल पूर्ण रुपमा अछुत रहन नसक्ने भएकाले सतर्कता अपनाउनुपर्ने अवस्था रहेको निगमले जनाएको छ।
निगमले आफ्नो निर्देशनविपरीत कसैले ग्यास सिलिन्डर अनावश्यक रूपमा होल्डिङ गरेको, बढी मूल्य लिएर बिक्री गरेको वा नयाँ सिलिन्डरको अनधिकृत बजारीकरण गरेको पाइएमा प्रचलित कानुनअनुसार कारबाही हुने चेतावनी समेत दिएको छ।