काठमाडौं। नागरिक उन्मुक्ति पार्टी नेपाल (नाउपा)का संरक्षक रेशमलाल चौधरीको प्रतिनिधिसभा सदस्य पदका लागि दर्ता गरिएको उम्मेदवारी खारेज गरिएको छ।
कैलाली निर्वाचन क्षेत्र नम्बर १ बाट पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीअन्तर्गत चौधरीको उम्मेदवारी दर्ता भएको थियो। तर, प्रचलित कानुनअनुसार उम्मेदवारी कायम रहन नसक्ने ठहर गर्दै निर्वाचन अधिकृतले मनोनयन खारेज गर्ने निर्णय गरेका हुन्।
निर्वाचन अधिकृतद्वारा जारी निर्णयमा भनिएको छ, 'नागरिक उन्मुक्ति पार्टी नेपाल (एकल चुनाव चिन्ह)का उम्मेदवार रेशमलाल चौधरीको प्रतिनिधिसभा सदस्य पदका लागि परेको मनोनयनपत्र प्रचलित कानुन बमोजिम कायम रहन सक्ने अवस्था नदेखिएकाले खारेज गरिएको छ,'
टीकापुर घटनासम्बन्धी मुद्दामा जन्मकैदको सजाय पाएका चौधरीले यसअघि सरकारको सिफारिसमा राष्ट्रपतिबाट आममाफी पाएका थिए। तर, प्रतिनिधिसभा निर्वाचन ऐनअनुसार जन्मकैदको सजाय सुनाइएका व्यक्ति निर्वाचनमा उम्मेदवार हुन अयोग्य हुने व्यवस्था छ। यही कानुनी व्यवस्थाका कारण उनको उम्मेदवारी खारेज गरिएको हो।
यसअघि २०७९ सालको प्रतिनिधिसभा निर्वाचनमा पनि चौधरी बर्दिया निर्वाचन क्षेत्र नम्बर २ बाट उम्मेदवार बनेका थिए। त्यसबेला उनी कारागारमै रहेका कारण उनको उम्मेदवारी खारेज भएको थियो।
उक्त निर्वाचनमा उनका बुवा लालवीर चौधरी बर्दिया २ बाट स्वतन्त्र उम्मेदवार बनेका थिए। पछि उनी नागरिक उन्मुक्ति पार्टीमा प्रवेश गरेका थिए र हाल नाउपा नेपालमै सक्रिय छन्।