काठमाडौं। रोटरी अन्तर्राष्ट्रिय नेपालअन्तर्गत प्रदान गरिँदै आएको गोपाल–कमला राजभण्डारी रोटरी पुरस्कारको राशि २० लाख रुपैयाँ पुर्याइएको छ। यस वर्ष उक्त पुरस्कार पानी, सरसफाइ र स्वच्छता क्षेत्रमा उल्लेखनीय योगदान पुर्याउने व्यक्ति, संस्था वा समूहलाई प्रदान गरिने भएको छ।
सामाजिक सेवामा योगदान पुर्याउने उद्देश्यसहित सन् २०१० मा स्थापना गरिएको यो पुरस्कार सुरुमा १० लाख रुपैयाँ नगद राशीको थियो। सन् २०२४ देखि यसको राशी वृद्धि गरी २० लाख रुपैयाँ बनाइएको हो। यो पुरस्कार हरेक वर्ष प्रदान गरिँदै आएको छ।
रोटरी अन्तर्राष्ट्रिय विश्वकै सबैभन्दा पुरानो सेवामूलक संस्था हो। सन् १९०५ मा अमेरिकाको शिकागो सहरबाट सुरु भएको यस संस्थामा हाल विश्वका २२१ देशमा फैलिएका हजारौँ क्लबमार्फत लाखौँ सदस्य सामाजिक सेवामा सक्रिय छन्।
नेपालमा रोटरीको सुरुवात सन् १९५९ मा भएको हो। सन् २००८ देखि नेपालमा छुट्टै रोटरी जिल्ला ३२९२ गठन भई हाल देशभर १६३ वटा रोटरी क्लब क्रियाशील छन्। यी क्लबले शिक्षा, स्वास्थ्य, खानेपानी, सरसफाइ, वातावरण तथा सामाजिक विकासका क्षेत्रमा निरन्तर काम गर्दै आएका छन्।
रोटरी जिल्ला ३२९२ का अनुसार यस पुरस्कारको उद्देश्य निस्वार्थ र समर्पित भावनाका साथ आफ्नो पेशा, व्यवसाय वा संस्थागत माध्यमबाट समाज र राष्ट्रको सेवामा महत्वपूर्ण योगदान पुर्याउने व्यक्तित्व वा संस्थालाई सम्मान गर्नु हो। यसले समाजमा सकारात्मक उदाहरण प्रस्तुत गर्नुका साथै भावी पुस्तालाई प्रेरणा दिने विश्वास लिइएको छ।
नेपालका कुनै पनि नागरिक, नागरिकहरूको समूह वा प्रचलित कानुनअनुसार दर्ता भएका संस्थाहरू यस पुरस्कारका लागि योग्य हुनेछन्। पेसागत उत्कृष्टता, उच्च नैतिकता, दीर्घकालीन सामाजिक प्रतिबद्धता, नवप्रवर्तनशील सोच तथा समुदायको जीवनस्तर उकास्न पुर्याएको योगदानलाई छनोटको आधार बनाइनेछ।
आवेदन फारम रोटरी जिल्ला कार्यालय, थापाथली तथा देशभर रहेका १६३ रोटरी क्लबबाट प्राप्त गर्न र बुझाउन सकिनेछ। आवेदन बुझाउने अन्तिम मिति २०८२ माघ २२ गते तोकिएको छ। यो पुरस्कार फागुन ७ देखि ९ गतेसम्म पोखरामा आयोजना हुने १८औँ रोटरी जिल्ला सम्मेलनमा प्रदान गरिने जनाइएको छ।