काठमाडौं। मध्यपूर्वमा इजरायल, अमेरिका र इरानबीचको युद्धका कारण उत्पन्न परिस्थितिलाई मध्यनजर गर्दै सरकारले स्थगित गरेको श्रम स्वीकृति खुलाउने विषयमा श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयमा आन्तरिक छलफल सुरु भएको छ। पछिल्लो समयको अवस्थालाई ध्यानमा राख्दै सरकारले फागुन १७ गतेदेखि श्रम स्वीकृति बन्द गरेको थियो।
श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले सुरक्षा संवेदनशीलतालाई मध्यनजर गर्दै आउँदो सातासम्म श्रम स्वीकृतिको विषयमा एउटा निचोड निकाल्ने तयारी गरेको मन्त्रालयका एक अधिकारीले क्यापिटल नेपाललाई बताए।
करिब दुई सातादेखि विकसित भएको मध्यपूर्व द्वन्द्वका कारण सरकारले साउदी अरेबिया, युएई, कतार, कुवेत, बहराइन, ओमान, इराक, यमन, जोर्डन, लेबनन, टर्की र इजरायललगायत देशहरूमा वैदेशिक रोजगारीका लागि प्रदान गरिँदै आएको व्यक्तिगत र संस्थागत श्रम स्वीकृति अर्को निर्णय नभएसम्म स्थगन गरेको थियो।
सरकारले पुनः श्रम स्वीकृति खोल्नुभन्दा अघि मध्यपूर्वीय क्षेत्रका देशहरूमा सुरक्षाको अवस्थाबारे अध्ययन गरी त्यहाँ जाने श्रमिक सुरक्षित रहन्छन् भन्ने पुष्टि भएपछि मात्र निर्णय गर्नुपर्ने श्रम तथा आप्रवासी विज्ञ रामेश्वर नेपालले बताए। उनका अनुसार साउदी, कतार, युएईलगायत देशमा श्रमिक जाँदा कुनै खतरा हुँदैन भन्ने आधार भएपछि स्वीकृति खोल्नु अलग कुरा हो, तर अनुमानको भरमा अहिले निर्णय गर्न हतार गर्नु उचित नहुने उनको बुझाइ छ।
सरकारले मध्यपूर्वको घटनालाई ध्यानमा राख्दै श्रम स्वीकृति बन्द गरेपछि अहिले त्यस क्षेत्रमा जाने श्रमिकहरू सरकारको निर्णयको पर्खाइमा बसेका छन। श्रम, रोजगार विभागका अनुसार सरकारले एक सातादेखि बन्द गरेको श्रम स्वीकृतिलाई अर्को निर्णय नभएसम्मका लागि कायम राखिएको विभागका प्रवक्ता चन्द्रबहादुर शिवाकोटीले बताए। सरकारले अर्को निर्णयपछि मात्र प्रक्रिया अघि बढ्ने उनको भनाइ छ।
सरकारले मध्यपूर्वस्थित खाडी मुलुकहरूमा श्रमिकलाई श्रम स्वीकृति प्रदान गर्न बन्देज लगाएपछि अहिले दैनिक करिब एक हजार श्रमिक स्वीकृति लिनबाट वञ्चित भएका छन। विभागका अनुसार पछिल्लो तीन महिनामा मासिक दरमा ६० हजारभन्दा बढीले श्रम स्वीकृति लिएका छन।
चालु आर्थिक वर्षको मंसिर महिनामा कुल ६५ हजार ७ सय ५, पुस महिनामा ६२ हजार ५ सय ५९ जना र माघ महिनामा ७० हजार ५ सय ३ जनाले श्रम स्वीकृति लिएको विभागले जनाएको छ। तर पछिल्लो केही दिनयता मध्यपूर्वको घटनाका कारण श्रमिकहरू श्रम स्वीकृति लिन प्रभावित भएका छन।
मन्त्रालयका एक अधिकारीका अनुसार मध्यपूर्वमा द्वन्द्व सुरु हुनुअघि साप्ताहिक रूपमा ८ देखि १० हजार जनाले श्रम स्वीकृति लिने गरेका थिए भने दैनिक करिब एक हजार जनाले स्वीकृति लिने गरेका थिए। तर अहिले विषम परिस्थितिका कारण सरकारले स्वीकृति रोके पनि पुनः स्वीकृति खोल्ने विषयमा के गर्ने भन्नेबारे मन्त्रालयका उच्च अधिकारीसँग आन्तरिक गृहकार्य भइरहेको उनले बताए।
मध्यपूर्वमा अहिले कस्तो छ अवस्था
अहिले मध्यपूर्व अन्तर्गतका विभिन्न देशहरूमा भएको द्वन्द्व दोस्रो सातामा प्रवेश गरेको छ। अमेरिकाको सहयोगमा इजरायलले २८ फेब्रुअरीमा इरानमाथि व्यापक आक्रमण गर्दै देशका सर्वोच्च नेताको हत्या गरेको थियो। त्यसपछि इरानले इजरायल र खाडी देशहरूमा रहेका अमेरिकी नियोगहरूमा आक्रमण गर्दै प्रत्युत्तर दिइरहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन्। अहिले युद्ध तीव्र गतिमा फैलिरहेको छ। जसमा साइप्रस र लेबननसमेत तानिएका छन। सबै पक्षमा हताहती तथा क्षति बढ्दै गएको बीबीसीले जनाएको छ।
गत केही दिनअघि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सीबीएस न्युजसँग कुरा गर्दै युद्ध धेरै हदसम्म समाप्तप्राय अवस्थामा पुगेको बताएका थिए। उनले थपे, ‘हामी समयतालिकाभन्दा धेरै अगाडि छौँ।’ तर सोही दिन उनले अमेरिका अझै अगाडि बढ्न सक्ने संकेत पनि दिएका थिए। बीबीसीका अनुसार ह्वाइट हाउस प्रेस सचिव क्यारोलाइन लेभिटले यसअघि युद्ध करिब छ हप्तासम्म चल्न सक्ने संकेत गरेकी थिइन।
इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहूले युद्ध सुरु हुँदा नै यो अभियान जति समय आवश्यक पर्छ त्यति समयसम्म जारी रहने बताएका थिए। यस युद्धले विश्व यात्रामा कोभिड–१९ महामारीपछि आएको सबैभन्दा ठूलो अवरोध ल्याएको छ, जसका कारण हवाई क्षेत्रहरू बन्द भएका छन् र हजारौँ उडानहरू मध्यपूर्वभरि स्थगित भएका छन। बीबीसीका अनुसार यसले विश्वव्यापी यात्रा तथा आपूर्ति प्रणालीमा समेत असर पारिरहेको छ।