काठमाडौं। पाँचतारे होटल ‘लेमन ट्री प्रिमियर’ सञ्चालन गरिरहेको बूढानीलकण्ठ हेरिटेज लिमिटेडले निष्कासन गरेको हकप्रद सेयर (राइट सेयर) लगानीकर्ताको उच्च आकषर्ण देखिएको छ। कम्पनीले जारी गरेको हकप्रद सेयरमा संस्थाकबाट आवेदन नपरेर बाँकी रहेको सेयरको लिलामी (अक्सन)मा लगानीकर्ताको उच्च आकर्षण देखिएको हो।
कम्पनीले गत कात्तिकमा पुस २३ सम्मको बिक्री खुला गरी संस्थापक सेयरधनीका लागि २ः१ को अनुपातमा हकप्रद सेयर निष्कासन गरेको थियो। यसमा ५८ करोड रुपैयाँ बराबरको सेयर संस्थापकले खरिद गरेका थिए। सो प्रक्रियामा आवेदन नपरेको ८ लाख ५४ हजार २८१ कित्ता सेयर कम्पनीले प्रिमियम मूल्यमा सिलबन्दी बोलपत्र (अक्सन)मार्फत बिक्रीमा ल्याएको थियो।
पुस २८ गतेदेखि अक्सनमा बिक्री खुला गरिएको कम्पनीको संस्थापक सेयरमा लगानीकर्ताको आकर्षण उच्च देखिएको छ। कुल ६६ करोड रुपैयाँको हकप्रद सेयर निष्कासन गरेकामा लिलामीका लागि बाँकी रहेको ८ करोडको कोटामा १९ करोड बराबरको आवेदन पर्यो, जुन मागभन्दा करिब ११५ प्रतिशतले बढी हो। यसमा न्यूनतम १५० रुपैयाँ प्रतिकित्ता आधार मूल्य तोकिएकामा अक्सनमा लगानीकर्ताबीच कडा प्रतिस्पर्धा पाइएको कम्पनी सञ्चालक बाबुकाजी कार्कीले बताए।
‘संस्थापकबाट बिक्री नभएको सेयरलाई न्यूनतम १५० रुपैयाँ प्रतिकित्ता मूल्य (प्रिमियमसहित) तोकेर अक्सन गर्दा अधिकतम १६१ रुपैयाँसम्मको बोली प्राप्त भयो, यसले कम्पनीप्रति लगानीकर्ताको उच्च मनोबललाई दर्शाएको छ।’
कम्पनीले ८ करोड रुपैयाँ बराबरको सेयरका आवेदन माग गर्दा १९ करोड बराबरको आवेदन पर्नु मागभन्दा ११५ प्रतिशत बढी (ओभर सब्सक्राइब) हो। वित्तीय अवस्था सुदृढ बनाउन चालिएको उक्त कदममा मागभन्दा दोब्बर बढी आवेदन परेपछि कम्पनीको उत्साह थपिएको कार्कीले बताए।
उनका अनुसार संकलित पुँजीको मुख्य हिस्सा बैंकको ऋण घटाउन र ब्याजको भार कम गर्न उपयोग गरिनेछ, जसले प्रत्यक्ष रूपमा कम्पनीको भविष्यको नाफा बढाउन सहयोग पुग्नेछ। हकप्रद सेयरको सफल व्यवस्थापन र बैंक ऋणको भार कम गरेसँगै कम्पनी अब सर्वसाधारणका लागि प्राथमिक सेयर (आईपीओ) जारी गर्ने अन्तिम तयारीमा जुटेको छ।
हकप्रद र आईपीओबाट संकलित पुँजीले वित्तीय भार कम गर्ने मात्र नभई होटलको भौतिक स्वरुपलाई अन्तर्राष्ट्रिय मापदण्डअनुसार अझै आधुनिक र आकर्षक बनाउनसमेत खर्च गरिने योजना कम्पनीको रहेको सञ्चालक कार्कीले बताए। संकलित रकमलाई कम्पनीले होटलको सेवा–सुविधा थप गुणस्तरीय बनाउन र भौतिक पूर्वाधार विकासमा परिचालन गर्ने लक्ष्य राखेको छ।
होटलको बाँकी रहेका केही प्राविधिक काम पूरा गर्ने, नयाँ प्रविधि जडान गर्ने र सेवाग्राहीको अनुभवलाई अझ उत्कृष्ट बनाउन आन्तरिक संरचनामा सुधार गरिनेछ। कम्पनीले आफ्नो प्रपर्टी विस्तारको योजनाअन्तर्गत होटल परिसरमा थप नयाँ सुविधा र वातावरणीय सौन्दर्यीकरणका कामहरूलाई पनि अगाडि योजना बनाएको छ।
बूढानीलकण्ठस्थित १०२ कोठाको सुविधासम्पन्न पाँचतारे ‘लेमन ट्री प्रिमियर’ अहिले पूर्ण सञ्चालनमा छ। अन्तर्राष्ट्रिय होटल चेन ‘लेमन ट्री होटल्स लिमिटेड’सँगको १५ वर्षे व्यवस्थापन सम्झौताले होटललाई विश्वव्यापी बजारमा स्थापित गर्न मद्दत पुगेको छ।
होटलमा विभिन्न क्षेत्रमा सफल व्यवसायी र विज्ञका साथै विभिन्न निजी इक्विटी र कर्पोरेट हाउसको सेयर स्वामित्व छ। यो पाँचतारे होटलले सन् २०२४ मार्च ९ देखि आंशिक रूपमा सञ्चालन सुरु गरेको थियो भने सन् २०२४ सेप्टेम्बर मध्यदेखि यो पूर्ण रूपमा सञ्चालनमा आएको छ।