काठमाडौं। भदौ २३ र २४ को जेनजी आन्दोलनपछि नेकपा एमालेमा नेतृत्व हस्तान्तरणको माग भइरहे पनि आफू अनुकूल पार्टी महाधिवेशन गराएर पुनः अध्यक्ष बनेका केपी शर्मा ओलीले आगामी फागुन २१ को निर्वाचनमा पार्टीलाई बहुमत दिलाउन पार्टी सदस्यलाई नामै उल्लेख गरेर पत्र काटेका छन्।
अध्यक्ष ओलीले आइतबार बेलुकी एमालेका ६ लाख ६३ हजार सदस्यलाई पत्र पठाउँदै बहुमतका लागि सक्रिय हुन आग्रह गरेका हुन्। पत्रमा अध्यक्ष ओलीले आसन्न निर्वाचनले देशलाई विनाशतर्फ धकेल्ने कि निर्माणको मार्गमा अघि बढाउने भन्नेबीचको हार जितको फैसला गर्ने उल्लेख छ। एमालेका उम्मेदवारलाई विजयी गराउन सबैलाई उच्च मनोबल सहित सक्रिय हुने आग्रह गरेका छन् ।

उनले देश निर्माणका लागि एमालेलाई बहुमतको आवश्यकता रहेको पत्रमा उल्लेख गरेका छन्। पार्टी प्रचार तथा प्रकाशन विभाग संयोजक मीनबहादुर शाहीका अनुसार सबै पार्टी सदस्यलाई निर्वाचन प्रचारमा सक्रियतापूर्वक लाग्न उत्साहित बनाउन अध्यक्ष ओलीले पत्र लेखेका हुन्।
यसैबीच आफू पब्लिक डिबेटका लागि तयार भएको बताएका छन्। उनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘नयाँ र पुराना सबै दल चुनावमा होमिएका बेला देश जलाउने र देश बनाउने पक्षबीच हुने यो प्रतिस्पर्धामा हाम्रो पार्टी नेकपा एमाले देश बनाउनेतर्फबाट मैदानमा छ।’
उनले सार्वजनिक बौद्धिक वृत्तबाट पार्टीका प्रमुख नेताहरूबीच एउटा पारदर्शी बहसको माग भइरहेको सुनिएको र फ्रेमिङ गरेर सामाजिक सञ्जालमा ल्याइएका प्रचार सामग्री मतदातालाई देखाएर आफ्नो वास्तविक चरित्र लुकाउने प्रवृत्ति देखिएकाले यस्तो पब्लिक डिबेट माग भएको हुन सक्ने बताएका छन्।
उनले भनेका छन्, ‘यसपालिको निर्वाचनमा देशमा ऐतिहासिक भूमिका खेलेका दल, यसअघिको चुनावमा खुलेको दल र भर्खरै खुलेका केही नयाँ दल पनि प्रधानमन्त्रीको उम्मेदवार समेत तोकेर आएका छन्, देशको नेतृत्व गर्न खोज्ने दलहरुका एजेण्डा के छन्, देश निर्माणमा यसअघि के काम गरे, अब गर्ने कामको रोडम्याप, योजना र खाका के छ ? सार्वजनिक रूपमा उठेका यस्ता प्रश्नमा आमनेसामने बहसको माग अत्यन्त सकारात्मक छ।’
ओलीले भनेका छन्, ‘यस्तो पब्लिक डिबेटमा आमनेसामने उभिएर यसअघि हामीले के के ग¥यौं भन्ने तथ्य र अब कसरी काम गर्छौं भन्ने एजेन्डा प्रस्तुत गर्न म तयार छु।’ चुनावपछि प्रधानमन्त्रीको उम्मेदवारमा प्रस्तुत भएका सबैलाई सीधा प्रश्न सोध्न खडा गरिएको मञ्चमा उभिएर आफ्ना एजेन्डा राख्ने प्रतिबद्धता जनाएका छन् र यस्तो पब्लिक डिबेट आयोजना गरेर सबै पक्षलाई ल्याउन आग्रह पनि गरेका छन्।
पछिल्लाे समय कांग्रेसबाट प्रधानमन्त्रीमा अगाडि सारिएका सभापति गगनकुमार थापा र रास्वपाबाट भावी प्रधानमन्त्रीका उम्मेदवार बालेन्द्र शाह बालेन र ओलीबीच डिबेट गरिनुपर्ने धारणा व्यक्त भइरहेका छन्।