काठमाडौं। नेपालको कुल गार्हस्थ्य उत्पादन (जीडीपी) मा कृषि, मत्स्य र वन क्षेत्रको योगदान विगत एक दशकमा लगातार घट्दै गएको देखिएको छ। आर्थिक वर्ष २०७१/७२ मा ३१.७४ प्रतिशत रहेको कृषिको हिस्सा आर्थिक वर्ष २०८२/८३ मा झरेर २५.१६ प्रतिशतमा सीमित भएको छ।
यस अवधिमा करिब ६ प्रतिशतले योगदान घटेको छ। यस तथ्यांकले मुलुकको अर्थतन्त्र गैरकृषि क्षेत्रतर्फ उन्मुख हुँदै गएको संकेत गर्छ। राष्ट्रिय तथ्यांक कार्यालयका अनुसार गैर कृषि क्षेत्रको हिस्सा भने सोही अवधिमा ६८ प्रतिशतबाट बढेर करिब ७५ प्रतिशत हाराहारी पुगेको छ।
बैंकिङ, शिक्षा, स्वास्थ्य, पर्यटन लगायत गैर कृषि क्षेत्र पछिल्लो समय जीडीपीमा योगदान बढ्दो छ। जीडीपीमा प्राथमिक क्षेत्र मानिने कृषिको योगदान बिस्तारै घट्दै गएको छ भने गैर–कृषि क्षेत्र, विशेषगरी सेवा र सूचना प्रविधिको हिस्सा बढ्न थालेको छ। सरकारी तथ्यांक र विज्ञहरूको विश्लेषणका आधारमा नोपलको अर्थतन्त्रको संरचनामा बिस्तारै परिवर्तन देखिन थालेको छ।
नेपालको कुल गार्हस्थ्य उत्पादन (जीडीपी) मा कृषि र गैरकृषि क्षेत्रको योगदानः

कृषि क्षेत्रको योगदान प्रतिशतमा घटे पनि प्रतिएकाइ जमिनमा हुने उत्पादन भने वृद्धि भएको छ। यसले नेपाली कृषिमा प्रविधि र सुधारको संकेत गरेको कृषि तथा पशुपन्छी विकास मन्त्रालयका वरिष्ठ कृषि विज्ञ महानन्द जोशी बताउँछन्। ‘जीडीपीमा कृषिको योगदान प्रतिशतका आधारमा घट्नु भनेको अर्थतन्त्र बिस्तारै आधुनिकतातर्फ जानु हो। तर, कृषिको योगदान कम भएपनि उत्पादकत्व र उत्पादन भने बढ्दै गएको देखिन्छ। थोरै जमिनबाट धेरै उत्पादन हुनु हाम्रा लागि सुखद पक्ष हो।’
नेपाली अर्थतन्त्र अब केवल निर्वाहमुखी कृषिमा मात्र सीमित नरही व्यावसायिक सेवा मोडिन थालेको छ। यसलाई थप प्रभावकारी बनाउन कृषिबाट प्राप्त हुने कच्चा पदार्थलाई स्वदेशी उद्योगमै खपत हुनुपर्ने देखिन्छ। नेपालको अर्थतन्त्रको संरचनामा विगत एक दशकमा उल्लेखनीय परिवर्तन देखिएको छ। कृषि अर्थविज्ञ डा. देवेन्द्र गौचनका अनुसार यो परिवर्तनलाई मुलुक विकासको बाटोमा अघि बढेको सकारात्मक सूचकका रूपमा लिन सकिन्छ।
मुलुक जति विकसित हुँदै जान्छ, जिडीपीमा प्राथमिक क्षेत्र कृषि, वन र मत्स्यको हिस्सा घट्दै जान्छ र दोस्रो तथा तेस्रो क्षेत्रमा पर्ने उद्योग र सेवाको हिस्सा बढ्दै जान्छ। नेपालमा अहिले यही प्रवृत्ति देखिएको छ। ‘१० वर्षअघि ३१ प्रतिशत रहेको कृषिको हिस्सा अहिले २५ मा झर्नुले देश विकासको फड्को मार्न लागेको संकेत गर्छ,’ उनले भने, ‘सेवा, उद्योग र पर्यटन जस्ता क्षेत्रको योगदान बढ्नु तुलनात्मक रूपमा राम्रो इन्डिकेटर हो। कृषिको उत्पादनले उद्योगलाई फिड गर्ने र सेवा क्षेत्रलाई विस्तार गर्ने हुँदा यसले समग्र अर्थतन्त्रलाई गतिशील बनाएको छ।’
कृषिको हिस्सा घट्नुको अर्थ कृषि उत्पादन घट्नु नभई अर्थतन्त्रका अन्य क्षेत्रहरू तुलनात्मक रूपमा विस्तार हुनु हो। गौचनका अनुसार, १० वर्षअघि कृषि क्षेत्रको कुल उत्पादनको मूल्य करिब ८ खर्ब रुपैयाँ हाराहारी रहेकोमा अहिले यो बढेर करिब १२ खर्ब रुपैयाँ पुगेको छ। मूल्य र उत्पादन दुवै बढे पनि जीडीपीको समग्र आकार ४० खर्बबाट ६३–६४ खर्ब ठूलो भएकाले प्रतिशतमा कृषिको हिस्सा कम देखिएको गौचन बताउँछन्। ‘जिडीपीमा कृषिको हिस्सा घट्दैमा कृषि कमजोर भयो भन्नु भ्रम हो। विकसित मुलुकहरू अमेरिका, युरोपमा कृषिको योगदान २–३ प्रतिशत मात्र हुन्छ किनकि त्यहाँ औद्योगिक र सेवा क्षेत्र धेरै ठूला हुन्छन्,’ उनले भने, ‘नेपालमा पनि अहिले सेवा क्षेत्रको विस्तारले गर्दा कृषिको प्रतिशत घटेको हो, जुन एउटा स्वभाविक आर्थिक प्रक्रिया हो।’
अहिले नेपालको औद्योगिक क्षेत्रको योगदान करिब १४–१५ प्रतिशतमा खुम्चिएको छ। यदि देशमा औद्योगिकीकरण तीव्र हुने हो भने कृषिको योगदान अझै घट्ने डा.गौचनको विश्लेषण छ। यसो हुनुमा कृषि क्षेत्रमा केवल प्राथमिक उत्पादन मात्र गणना हुनु हो। ‘फलफूलको उद्योगमा लगेर जुस वा अन्य परिकार बनाइन्छ, त्यो आम्दानी औद्योगिक क्षेत्रमा गणना हुन्छ,’ उनले भने, ‘त्यसैले, कृषिमा आधारित उद्योग बढ्दा पनि प्राविधिक रूपमा कृषिको हिस्सा घटेको देखिन्छ तर त्यसले समग्र अर्थतन्त्रलाई भने बलियो बनाउँछ।’
कृषिको हिस्सा घट्नुको अर्थ कृषि उत्पादन नै स्वाट्टै घट्नु भने होइन। बरु, यो अर्थतन्त्रको आधार विविधीकरण भएको र मुलुक परम्परागत निर्वाहमुखी खेतीबाट आधुनिकीकरण र औद्योगिकरणतर्फ उन्मुख भएको सकारात्मक सूचक रहेको कृषिविज्ञ रामबहादुर केसीको भनाई छ। कृषि, वन तथा मत्स्यपालन क्षेत्रको योगदान प्रतिशतमा घटे पनि यसको उत्पादनको कुल भोल्युम र मूल्यमा भने वृद्धि भएको छ। बजार मूल्य र उत्पादनको परिमाण बढे पनि अन्य क्षेत्रको वृद्धिदर तीव्र भएकाले कृषिको हिस्सा कम देखिएको हो। ‘जति देश विकसित हुँदै जान्छ, जीडीपीमा कृषिकाो हिस्सा घट्दै जाने र उद्योग तथा सेवा क्षेत्रको हिस्सा बढ्दै जाने विश्वव्यापी मान्यता छ।’ उनले भने, ‘नेपालको वर्तमान अवस्थाले देश विकासको फड्को मार्न लागेको संकेत गर्दछ।’
पछिल्ला दस वर्षमा नेपालको जीडीपीमा कृषिको योगदान प्रतिशतमा उतार–चढाव देखिएको छ। आर्थिक वर्ष २०७१÷७२ तिर करिब २१.७४ प्रतिशत रहेको कृषि क्षेत्रको हिस्सा पछिल्ला वर्षहरूमा करिब २५.१६ प्रतिशत आसपास पुगेको देखिए पनि दीर्घकालीन रुपमा कृषिको योगदान क्रमश घट्दै गएको तथ्यांकले देखाउँछ।
अर्थतन्त्रमा नयाँ–नयाँ क्षेत्रको विस्तार, सेवा तथा व्यापार क्षेत्रको तीव्र वृद्धि र राष्ट्रिय लेखा प्रणालीमा क्षेत्रगत वर्गीकरण विस्तार हुँदा कृषिको प्रतिशत हिस्सा घटेको राष्ट्रिय तथ्यांक कार्यालयकाको आर्थिक तथ्यांक महाशाखा अन्र्तगतको कृषि तथा पशुपंक्षी गणना शाखाका निर्देशक तीर्थराज चौलागाँई बताउँछन्। ‘पहिले ६ वटा मात्र रहेका क्षेत्रगत वर्गीकरण क्रमशः ९, १५ हुँदै हाल २१ वटा क्षेत्रमा विस्तार भएपछि सेवा, खुद्रा–थोक व्यापार, यातायात, सञ्चारजस्ता क्षेत्रको हिस्सा बढेको हो,’ उनले भने।
यसका साथै, सहरीकरण तीव्र बन्दा काठमाडौं उपत्यकासहित तराई र पहाडी क्षेत्रका उर्वर कृषि जग्गा आवास र संरचनामा परिणत भएका छन्। पहिले काउली, तरकारी र धान फल्ने स्थान अहिले आवासीय क्षेत्रमा रूपान्तरण हुँदा उत्पादन क्षमतामा प्रत्यक्ष असर परेको उनको भनाइ छ। कतिपय स्थानमा खेतीयोग्य जमिन बाँझो राखिएको, श्रमिक अभाव बढेको र युवा पुस्ता कृषि पेशाबाट टाढिँदै गएले जीडीपीमा केषि योगदानको कमी देखिएको चौलागाँईको तर्क छ। विकसित अर्थतन्त्रमा कृषिमा कम जनशक्ति संलग्न भई प्रविधि प्रयोगबाट उच्च उत्पादन लिने प्रवृत्ति सामान्य मानिन्छ। नेपालजस्ता विकासोन्मुख मुलुकमा अन्य क्षेत्रको विस्तारले कृषिको सापेक्ष हिस्सा घट्नु संरचनागत रूपान्तरणको संकेत देखिन्छ।