काठमाडौं। जेनजी आन्दोलनपछि हेलिकोप्टरहरुको उडान संख्या विगतको तुलनामा घटेको छ। गत वर्षको भन्दा यो वर्ष मौसम सफा रहे पनि उडान गर्ने यात्रुहरु कम आएको हेलिकोप्टर सञ्चालकहरुले बताएका छन्।
वायुसेवा सञ्चालक संघका एक पदाधिकारीका अनुसार जेनजी आन्दोलनपछि अधिकांश क्षेत्रले लय समात्न थाले पनि हेलिकोप्टरको उडान भने तुलनात्मक रुपमा घट्दै गएको हो। जसको कारण हेलिकोप्टर कम्पनी समस्यामा पर्दै आएको ती पदाधिकारीको भनाइ छ।
तर, गत वर्षको तुलनामा यो वर्ष पर्यटकको संख्या केही बढेको छ। २०२५ मा ११ लाख ५८ हजार ४५९ जना विदेशी पर्यटकहरु नेपाल आएका छन्। २०२४ मा ११ लाख ४७ हजार ५ सय ४८ जना पर्यटक नेपाल आएका थिए। २०२४ को तुलनामा भने ३.९ प्रतिशतले आगमन बढेको हो।
संख्यात्मक रुपमा केही बढे पनि खर्च गर्न सक्ने पर्यटकहरुको आगमन भने विस्तारै घटेको विश्लेषण हेलिकोप्टर व्यवसायीहरुको छ। ‘जसरी पहिला-पहिला विदेशी पर्यटकहरु हेलिकोप्टर चार्टर गरेर विभिन्न गन्तव्य घुम्न जाने गथ्र्ये, अहिले संख्या ह्वात्तै घटेको छ,’ ती हेलिकोप्टर सञ्चालकले भने,‘अझ जेनजी आन्दोलनपछि त पुरै सुनसान छ।’
विगत केही वर्षअघि यो सिजनमा हेलिकोप्टरहरुको उडानमा भ्याइनभ्याई हुने गरेको हेलिकोप्टर व्यवसायीहरु बताउँछन्। हेलिकोप्टरको व्यवसाय राम्रो देखेर यो क्षेत्रमा धेरै व्यवसायीहरु आए। साथै, उनीहरुले धेरै संख्यामा हेलिकोप्टहरु समेत थपिए। तर, पछिल्लो जेनजी आन्दोलन र त्यसपछि अन्तर्राष्ट्रिय क्षेत्रमा परेको प्रभावले धनाढ्य पर्यटकहरु नेपाल आउन छोडेको पर्यटन व्यवसायीहरुको भनाइ छ।
खर्चालु पर्यटकहरु पर्याप्त नहुँदा हेलिकोप्टर कम्पनी मात्र होइन होटलहरुको व्यापार समेत घटेको होटल एशोसिएशन अफ नेपाल(हान)का अध्यक्ष विनायक शाहको भनाइ छ। पछिल्लो समय नेपालसहित अधिकांश मुलुकमा आर्थिक संकटको समस्या अझै पनि रहेको र मान्छेको खर्च गर्न सक्ने क्षमतानै घटेका कारणले पनि खर्चालु पर्यटकको संख्या कम हुँदै गएको अध्यक्ष शाहको विश्लेषण छ। हेलिकोप्टर र एयरलाइन्सहरुको विजनेशले होटल क्षेत्रमा पनि ठूलो प्रभाव पार्ने उनको भनाइ छ।
चुनावले छैन रौनक
विगतको प्रतिनिधिसभा होस् या स्थानीय तहको निर्वाचनको बेला हेलिकोप्टर धेरै नै प्रयोग हुने गरेको थियो। नेताहरु भाषणमा विभिन्न ठाउँमा जानलाई हेलिकोप्टर प्रयोग गर्ने गरेका थिए। तर, फागुन २१ गते हुन लागेको प्रतिनिधिसभाका लागि अहिलेसम्म कुनै पनि नेताहरुले हेलिकोप्टर प्रयोग नगरेको व्यवसायीहरुको गुनासो छ।
जेनजी आन्दोलनपछि चाहेर पनि धेरै खर्च गर्नेहरुले पनि अहिले हेलिकोप्टर प्रयोग नगरेको हुन सक्ने व्यवसायीहरुको जिकिर छ। अझ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ उपाध्यक्ष बालेन्द्र शाह(बालेन)ले चुनावी प्रचारका लागि महँगा गाडी प्रयोग गरेको विषयमा व्यापक आलोचना भएपछि झनै हेलिकोप्टर प्रयोग गर्न डराएको हुन सक्ने हेलिकोप्टर सञ्चालकहरुको दाबी छ।