काठमाडौं। फागुन २१ मा हुने प्रतिनिधिसभा निर्वाचनमा राजनीतिक दलमा आबद्धता लिएर र स्वतन्त्र रुपमा होटल, पर्यटन, ट्रेकिङमा क्रियाशील व्यवसायी पनि चुनावी मैदानमा उत्रिएका छन्। फरक पेसा र व्यवसायमा आबद्ध पर्यटन व्यवसायी विभिन्न दल र स्वतन्त्र उम्मेदवारका रूपमा चुनावी मैदानमा उत्रिएका हुन्।
कांग्रेसबाट नेपालका एकमात्र बिलिनियर उद्यमीसमेत रहेर पर्यटन व्यवसायमा लगानी गर्दै आएका कांग्रेस नेता विनोद चौधरी नवलपरासी–१ ९बर्दघाट सुस्ता पश्चिम०बाट चुनावी मैदानमा छन्। पर्यटनमा आबद्ध प्रेम खत्री नेपाली गोरखा–१ मा कांग्रेसबाट उम्मेदवार बनेका छन्। मनाङमा टेकबहादुर गुरुङ र मुस्ताङमा योगेश गौचन थकाली कांग्रेसबाट चुनावी मैदानमा उत्रिएका छन्। यी दुवै पर्यटन व्यवसायी हुन्।
पर्यटन व्यवसायी एवं ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल (टान) का पूर्वअध्यक्ष रमेशप्रसाद धमला कांग्रेसबाट धादिङ–२ को उम्मेदवार बनेका छन्। पर्यटन व्यवसायी कृष्ण रिजाल कांग्रेसबाटै धादिङ–१ मा उम्मेदवार रहेका छन्।
यस्तै, उद्योग, होटललगायत क्षेत्रमा लगानी गरेका एमाले नेता कृष्णकुमार (किसान) श्रेष्ठ बारा–४ मा उम्मेदवार बनेका छन्। पर्यटन तथा ट्राभल व्यवसाय आबद्ध भगीरथ सापकोटा एमालेबाट नवलपुर–१ मा उम्मेदवार बनेका छन्।
यसैगरी होटल व्यवसायी सुमन सायमि नेपाली कम्युनिस्ट पार्टीबाट काठमाडौं–८ को उम्मेदवार रहेका छन्। ट्राभल, ट्रेकिङ सर्भिस, होटलसहितका व्यवसायमा संलग्न राष्ट्रिय स्वतन्त्र पार्टीका नेता डीपी अर्याल काठमाडौं–९ बाट चुनावी मैदानमा छन्। हिमाल आरोही मिङ्मा शेर्पा रास्वपाबाट संखुवासभाबाट चुनावी मैदानमा छन्।
यस्तै, नेपाल पर्यटन बोर्डका पूर्वप्रमुख कार्यकारी अधिकृत तथा पर्यटन व्यवसायी धनञ्जय रेग्मीले राष्ट्रिय स्वतन्त्र पार्टीबाट स्याङ्जा–१ मा उम्मेदवारी दिएका छन्।