काठमाडौं। नेपाली कांग्रेसले फागुन २१ को निर्वाचनलाई व्यवस्थित बनाउन मातहतका निकायलाई परिपत्र गरेको छ।
आज निर्वाचन परिचालन समिति संयोजक एवं उपसभापति विश्वप्रकाश शर्माले परिपत्र जारी गर्दै प्रदेश कार्यसमिति, जिल्ला कार्यसमिति र प्रतिनिधिसभा क्षेत्र कार्यसमिति सभापतिलाई कम्तीमा १२ समिति बनाउन निर्देशनसहितको परिपत्र गरेका हुन्।
शर्माले विजय अभियान व्यवस्थित बनाउन समिति र संरचना सबै तहमा अविलम्ब गठन गर्नु÷गराउनुहुन,’ शीर्षकमा जारी गरेको परिपत्रमा आमनिर्वाचनमा पार्टी पंक्तिलाई व्यवस्थित रूपले परिचालित गर्न समिति गठन गरिएको उल्लेख छ। ‘समिति कैयन ठाउँमा गठन भइसकेका छन्। जहाँ गठन भएको छैन, त्यहाँ गर्न परिपत्र पठाइएको छ,’ शर्माले भनेका छन्।
परिपत्रअनुसार निर्वाचन व्यवस्थापन सचिवालय, निर्वाचन परिचालन मूल समिति, निर्वाचन प्रचार–प्रसार मूल समिति, स्थानीय तह समन्वय समिति, बौद्धिक क्षेत्र समन्वय समिति, सामाजिक संघ–संस्था समन्वय समिति, धार्मिक संघ–संस्था समन्वय समिति, निजी क्षेत्र समन्वय समिति, १८/३० विशेष अभियान, पूर्वआप्रवासी समन्वय समिति, स्थानीय प्रशासन समन्वय समिति र अनुगमन समिति गठन गर्नुपर्नेछ ।
तीबाहेक निर्वाचन परिचाल समिति र प्रचार–प्रसार समिति अन्तर्गत उपसमिति गठन गर्नुपर्ने पनि परिपत्रमा उल्लेख छ।
