काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नेतृत्वको झण्डै दुई तिहाईको सरकार बनेसँगै सेयर बजार परिसूचक नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा आज पनि भारी गिरावट आएको छ।
सरकार बनेलगत्तै शनिबार बिहानै पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र पूर्वगृहमन्त्री तथा नेपाली कांग्रेसका नेता रमेश लेखक पक्राउ परेका थिए। उनीहरूको पक्राउसँगै साताको पहिलो कारोबार दिन सेयर बजारमा ७१ अंकले गिरावट भएको थियो।
साताको दोस्रो कारोबार दिन सोमबार थप ४८ अंकले गिरावट आएको हो। योसँगै आज सेयर बजार परिसूचक २८३१ विन्दुमा पुगेको छ।
नयाँ सरकारले विगत १० वर्षदेखि निष्क्रिय रहेको बैंक खातामा रहेको व्यक्तिगत रकम सरकारी मातहतमा ल्याउने गरी तयारी थालेसँगै सेयर बजारमा भारी गिरावट आएको हो।
आज बजारमा भारी गिरावट हुँदा २६ कम्पनीको मूल्य बढेको छ। २३७ कम्पनीको मूल्यमा गिरावट आउँदा ५ कम्पनीको मूल्य स्थिर भएको छ।
आज पनि सेयर बजार क्र्यास हुँदा ७ कम्पनीको मूल्यमा सर्किट लागेको छ। जसमा रिलायन्स स्पिनिङ मिल्स, सुपर खुदी हाइड्रोपावर, रिड्जी लाइन इनर्जी लिमिटेड, सूर्यकुण्ड हाइड्रो इलेक्ट्री लिमिटेड, भुजुङ हाइड्रोपावर, होटल फरेस्ट इन र सप्तकोशी विकास बैंक रहेका छन्।
यस्तै, सबैभन्दा बढी गुमाउनेमा सोलु हाइड्रो पावर कम्पनी लिमिटेड रहेको छ। यो कम्पनीको सेयर ८ प्रतिशतले गिरावट आएको हो। कारोबारका आधारमा सबैभन्दा बढी रिडी पावर कम्पनी लिमिटेडको सेयर ६४ करोड ४१ लाख रुपैयाँको रहेको छ।
आज कूल १२ अर्ब ९६ करोड मूल्य बराबरको सेयर किनबेच भएको छ।