काठमाडौं। आगामी फागुन ३० देखि चैत २ सम्म हुने गैरआवासीय नेपाली संघ (एनआरएनए) निर्वाचन संस्थाको विधानअनुसार नै सम्पन्न गर्न परराष्ट्र मन्त्रालयले निर्देशन दिएको छ।
एनआरएनए निर्वाचन मोडालिटीबारे छलफल गर्न बिहीबार मन्त्रालयमा आयोजित कार्यक्रममा परराष्ट्रमन्त्री बालानन्द शर्माले विधानमै स्पष्ट लेखिएकाले सोहीअनुसार निर्वाचनमा जानुपर्ने बताएका हुन्।
उनले भने, ‘यदि हामीले कुनै पनि काम गर्ने हो भने त्यसलाई नियम र प्रक्रियाभित्र बसेर गर्नुपर्छ। हामी फुटबल खेल्छौं भने फुटबलको नियम मान्नुपर्छ, भलिबल खेल्ने हो भने भलिबलको नियम मान्नुपर्छ। अब हामी एनआरएनए चलाइरहेका छौं भने यसको विधान र प्रक्रिया मान्नैपर्छ। मान्न सकिँदैन भने आलोचना गर्नुपर्छ, तर आलोचना पनि विधि र मर्यादाभित्र हुनुपर्छ। यही सामान्य बुझाइ हो।’
‘अनलाइन मतदान किन गरियो? प्रत्यक्ष सहभागिता किन आवश्यक भयो भन्ने विषय विधान बनाउने बेलामै स्पष्ट गरिएको रहेछ। अब एकताको खोजीमा विभाजन भयो भने त्यसलाई पनि नियमभित्रै समाधान गर्नुपर्छ’, उनले थपे, ‘तपार्ईंहरूको विधानमै महाधिवेशन तथा साधारणसभा अनलाइन अथवा भौतिक रूपमा उपस्थित भई गर्न सकिनेछ। भौतिक रूपमा उपस्थित हुन नसक्ने प्रतिनिधिका लागि अनलाइनमार्फत साधारणसभामा भाग लिन र निर्वाचनमा मतदान व्यवस्था गर्नुपर्नेछ भनेर स्पष्ट उल्लेख गरिएको रहेछ। त्यसैले अहिलेका लागि त्यो नियम भनेको त्यही हो, सोहीअनुसार प्रधानमन्त्रीज्यूको अध्यक्षतामा १० बुँदे सहमति गरिएको छ र सहमतिमा त्यही विधानअनुसार गर्ने भनिएको छ। यसर्थ, परराष्ट्र मन्त्रालयको भूमिका भनेको सहजीकरण गर्नु मात्र हो र त्यो काम मन्त्रालयले गरिरहेको छ।’
मन्त्री शर्माले आफू व्यक्तिगत रूपमा भौतिक उपस्थितिमै निर्वाचन होस् भन्ने चाहना राखे पनि विदेशमा रहेका नेपालीलाई निर्वाचन प्रक्रियामा सहभागी गराउनुपर्ने वैधानिक व्यवस्था रहेकाले सोहीअनुसार गर्नुपर्ने उल्लेख गरे। लोकतान्त्रिक प्रक्रिया नमान्नु भनेको आफ्नै असफलता प्रदर्शन गर्नुसरह हुने उनको भनाइ थियो। ‘लोकतान्त्रिक प्रक्रिया अभ्यास भइरहेको ठाउँमा निर्देशन खोज्नु भनेको आफ्नै असफलता स्वीकार गरेजस्तो देखिन्छ,’ मन्त्री शर्माले भने,‘दुवै पक्षले हार–हारको अवस्थाबाट अघि बढ्नुस्, कुनै पनि इगो नराखी म वा मेरोभन्दा पनि अहिले संघको हितका लागि जित–हारको दृष्टिले होइन, भविष्यको दृष्टिले सोचौं।’
मन्त्री शर्माले एनआरएनएको १२औं महाधिवेशन सफल बनाउन सरकारका तर्फबाट आवश्यक सहजीकरण र सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे।
कार्यक्रममा परराष्ट्र सचिव अमृतबहादुर राईले देशको सेवा गर्न पद आवश्यक नपर्ने बताउँदै त्याग र समर्पण नै राष्ट्रसेवाको मूल आधार भएको बताए। उनले संस्थागत सफलताका लागि व्यक्तिगत स्वार्थभन्दा माथि उठ्नुपर्ने आवश्यकता औंल्याए।

एनआरएनए अभियान ठूलो आशाका साथ सुरु गरिएको स्मरण गराउँदै सचिव राईले विश्वभर रहेका नेपालीलाई एकीकृत गरी नेपालको समुन्नतिका लागि उपयोग गर्ने उद्देश्यले यसलाई गैरराजनीतिक संस्थाका रूपमा अघि बढाउन चाहेको धारणा व्यक्त गरे।
सरकारले विशेष नियममार्फत यसलाई औपचारिक मान्यता दिएको उल्लेख गर्दै उनले सुरुआती सफलता उल्लेखनीय रहे पनि पछिल्ला वर्षमा त्यसको निरन्तरता कमजोर भएको धारणा व्यक्त गरे।
उनँले संस्थाको मूल मर्म अनुसार गैरराजनीतिक, समावेशी र एकीकृत रूपमा अघि बढ्न आग्रह गरे। ‘त्याग र समर्पणको संस्कार बिना हामी अगाडि बढ्न सक्दैनौं,’ उनले भने। विदेशमा रहेका करिब ८० लाख नेपालीमध्ये ठूलो संख्या अझै एनआरएनएको औपचारिक दायराबाहिर रहेको उल्लेख गर्दै उनले परराष्ट्र मन्त्रालयको चाहना सबै नेपाली संघसंस्थाको छाता संगठनका रूपमा संस्थालाई सशक्त र एकीकृत बनाउनु रहेको बताए। सरकार बलियो, एकीकृत र परिपक्व एनआरएनसँग सहकार्य गर्न सधैं इच्छुक रहेको उनको भनाइ थियो।
एनआरएनको निर्वाचन प्रक्रियाको सन्दर्भमा देखापरेका अन्योल समाधानका लागि विधानअनुसार अघि बढ्न आग्रह गर्दै सचिव राईले विधानमै महाधिवेशन तथा साधारणसभा अनलाइन अथवा भौतिक रूपमा उपस्थित भई गर्न सकिने लेखिएको सुनाए। भौतिक रूपमा उपस्थित हुन नसक्ने प्रतिनिधिका लागि अनलाइनमार्फत साधारणसभामा भाग लिन र निर्वाचनमा मतदानको व्यवस्था गर्नुपर्नेछ भनी निर्वाचन प्रक्रिया स्पष्ट रहेकाले त्यसमा अनावश्यक विवाद नगर्न उनले सुझाए।
उनले आगामी १२औँ विश्व सम्मेलन तथा अन्तर्राष्ट्रिय सम्मेलनलाई सफल बनाउन सबै गैरआवासीय नेपालीलाई नेपाल आएर सक्रिय सहभागिता जनाउन पनि आग्रह गरे।
उक्त संयुक्त बैठकमा एनआरएनए पदाधिकारी तथा सल्लाहकारको सहभागी थिए। बैठकमा उप–महासचिव सोम सापकोटा, सह–कोषाध्यक्ष कृष्ण तिमिल्सेना तथा सल्लाहकार अतुल कोइराला, डीआरसी अमेरिका पूर्ण बनिया तथा अमेरिकाबाट महिला क्षेत्रीय संयोजक इन्दिरा त्रिपाठी, अष्ट्रेलियाबाट सल्लाहकार भैरव ढकाल र देवेन्द्र बस्नेत सहभागी थिए।
यस्तै, भर्चुअल माध्यमबाट अध्यक्ष महेश श्रेष्ठ, उपाध्यक्षहरू डा. हेमराज शर्मा, डा. विनोद श्रेष्ठ, रामशरण सिंखडा, केशव पौडेल, विश्वास तिगेला, पूर्वअध्यक्ष राजेन्द्र कुमार (आर.के.) शर्मा तथा विनोद कुँवर, रतनकुमार झा, गौरीराज जोशी, बाबुराम लामा, भवानीप्रसाद ओली, गंगाधर गौतम तथा इन्द्रा वन र एनसीसी कतारबाट रमेश विष्टलगायतको उपस्थिति थियो।
यस्तै, सचिवालयबाट प्रमुख कार्यकारी अधिकृत राजेन्द्र कुमार राउत, सहायक निर्देशक महेश श्रेष्ठ, वरिष्ठ अधिकृत कुनाल मिश्र तथा वरिष्ठ सञ्चार तथा वैदेशिक रोजगार अधिकृत इन्द्रलक्ष्मी घिमिरे सहभागी थिए।