काठमाडौं। नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले बदलिएको कांग्रेसले देश बदल्ने संकल्प लिएर अगाडि बढेको बताएका छन्।
नेपाली कांग्रेस काठमाडौं क्षेत्र ४ ले आज आयोजना गरेको निर्वाचन परिचालन मूल समिति घोषणा कार्यक्रममा सहभागी थापाले देश बदल्नका लागि कांग्रेस बदलिएको बताए। ‘समयक्रमसँगै कांग्रेस नयाँ काम, सोच र संकल्पका साथ अगाडि बढेको छ, कांग्रेसभित्र नेताभन्दा कार्यकर्तालाई बलियो बनाउने अभियान सुरु भएको छ’, सभापति थापाले भने।
आगामी दिनमा टिकट लिन नेताको घरमा चाहर्ने प्रवृत्ति अन्त्य हुनेगरी कार्यकर्तालाई बलियो बनाउन लागिएको उनको भनाइ थियो। लोकतन्त्र र सामाजिक न्यायबारे कांग्रेसले कसैसँग सम्झौता नगर्ने सभापति थापाले बताए।
उनले आमनागरिकको चाहना सुशासन र भ्रष्टाचारमा शून्य सहनशीलता अपनाओस् भन्ने रहेको बताउँदै बदलिएको कांग्रेसले आम नागरिकको चाहनालाई पूरा गर्ने प्रतिबद्धता व्यक्त गरे। सभापति थापाले विशेष महाधिवेशनले पार्टीभित्र गुट र भागबन्डाको राजनीति अन्त्य गरेको बताए। उनले युवाहरुको आवाजलाई कांग्रेसले सुनेर अगाडि बढेको बताउनुभयो । कांग्रेससँग सुधारको एजेन्डा र सबैलाई जोड्ने ताकत रहेको उनको भनाइ थियो।
थापाले युवाले देशभित्रै रोजगारीको अवसर दिन कांग्रेस लाग्ने बताए। सभापति थापाले पार्टीभित्र आफूलाई अहिलेको उचाइमा पुर्याउन काठमाडौं क्षेत्र ४ का कार्यकर्ता र आम मतदाताले खेलेको भूमिकाको उच्च सम्मान गरे।
‘मलाई तपाईँहरुले लगाएको गुन जीवनभर तिर्न सक्दिनँ, दुःखको बेलाका साथी र अभिभावक तपार्ईंहरु हो। नेपाली कांग्रेस र अन्य पार्टीमा रहेर मलाई भोट हाल्ने मतदाताको सहयोगका कारण म यस क्षेत्रबाट तीनपटक निर्वाचित भएँ। यसको श्रेय क्षेत्र ४ बासीलाई जान्छ’, उनले भने।
सभापति थापाले मधेसलाई काठमाडौँसँग जोड्न र मधेसको मुद्दा बुझ्न लागि आफूले सर्लाही क्षेत्र ४ बाट उम्मेदवारी दिएको बताए।
कांग्रेस काठमाडौं क्षेत्र नं ४ का उम्मेदवार सचिन तिमल्सिनाले काठमाडौँ क्षेत्र ४ को विकासका लागि आफू निरन्तर लाग्ने प्रतिबद्धता व्यक्त गरे।
उनले जेनजी आन्दोलनपछि बदलिएको कांग्रेसले आफूलाई विश्वास गरेर उम्मेदवार बनाएको बताउँदै जितको लागि क्षेत्र ४ बासीको साथ र सहयोगको अपेक्षा गरे।