काठमाडौं। नवा नेक्स टेकले अन्तरपुस्तागत सहभागितासहित नेपालको पहिलो सञ्चार–केन्द्रित सुपर एप ‘एनच्याट’ सार्वजनिक गरेको छ। राजधानीको केएमसी कलेजमा शुक्रबार आयोजित विशेष कार्यक्रममा एपको औपचारिक सार्वजनिककरण गरिएको हो।
कार्यक्रमको विशेष आकर्षणका रूपमा विभिन्न पाँच पुस्ताका प्रतिनिधिहरूले संयुक्त रूपमा एपको उद्घाटन गरे। सन् १९४६ देखि २०२५ सम्म जन्मिएका बेबी बुमर्स, जेनरेशन एक्स, मिलेनियल्स, जेनरेशन जेड तथा जेनरेशन अल्फाका प्रतिनिधिहरूको सहभागिताले एनच्याट सबै उमेर समूहका प्रयोगकर्ताका लागि सहज, प्रयोगमैत्री र समावेशी रहेको सन्देश दिएको आयोजकको भनाइ छ।
एनच्याट आजैदेखि एन्ड्रोइड प्रणाली र एप्पल मोबाइल प्रणाली दुवैमा प्रयोगका लागि उपलब्ध छ। नेपालमै नौ महिनाको निरन्तर अनुसन्धान तथा विकासपछि तयार गरिएको यो एप सञ्चार, भुक्तानी र सेवा आधारित मोडेलमा सञ्चालन हुनेछ। यस एपमार्फत प्रयोगकर्ताले सन्देश आदान–प्रदान, ध्वनि तथा दृश्य कल, आवाज सन्देश, तत्काल अनुवाद, डिजिटल भुक्तानी, अनलाइन किनमेल तथा विभिन्न सेवाहरू एउटै माध्यमबाट उपयोग गर्न सक्नेछन्।
नवा नेक्स टेकका संस्थापक तथा प्रमुख कार्यकारी अधिकृत धीरेन हमालका अनुसार एनच्याट नेपाली समाजको वास्तविक आवश्यकता र प्रयोगकर्ताको व्यवहारलाई ध्यानमा राखेर विकास गरिएको हो। उनले भने, ‘सबै उमेर समूहका नेपालीले सजिलै प्रयोग गर्न सकून् भन्ने उद्देश्यले एनच्याट तयार गरिएको हो। यही सन्देश दिन अन्तरपुस्तागत सहभागितासहित यसको उद्घाटन गरिएको हो।‘
सबै पुस्ताका लागि पहुँचयोग्य र समावेशी एनच्याट विशेषगरी ज्येष्ठ नागरिक, दृष्टिविहीन तथा पढ्न–लेख्न कठिनाइ हुने प्रयोगकर्तालाई लक्षित गरी तयार गरिएको छ। एपमा अंग्रेजी–नेपाली तत्काल अनुवाद, पाठलाई आवाजमा रूपान्तरण गर्ने सुविधा तथा आवाजलाई पाठमा बदल्ने प्रणाली समावेश गरिएको छ, जसले डिजिटल सेवामा सबैको समान पहुँच सुनिश्चित गर्ने विश्वास लिइएको छ।
मिनी एपमार्फत डिजिटल व्यवसाय प्रवर्द्धन एनच्याटभित्रै रहेको एप भण्डार तथा मिनी एप प्रणालीमार्फत साना व्यवसाय र नयाँ उद्यमहरूले बिना प्रोग्रामिङ, तान्ने–छोड्ने प्रविधिबाट आफ्नै डिजिटल सेवा प्लेटफर्म निर्माण गर्न सक्नेछन्। कार्यक्रममा बोल्दै प्राध्यापक डा. नन्दबहादुर सिंहले एनच्याटले नेपाली उद्यमीहरूलाई डिजिटल अर्थतन्त्रमा छिटो र सहज रूपमा प्रवेश गराउन महत्वपूर्ण भूमिका खेल्ने बताए।