म्याग्दी। रोजगारीका क्रममा विदेशमा पुगेर अलपत्र बनेका यहाँको रघुगंगा गाउँपालिका–६ फुलडाँडाका भुवन विकको करिब तीन महिनापछि उद्धार भएको छ। भुवनसँगै सर्बियादेखि इटली जाने क्रममा खोलामा डुंगा दुर्घटना हुँदा बेपत्ता भएका बेनी नगरपालिका–९ काउलेगौंडाका विष्णे सार्कीको अवस्था भने अझै अज्ञात रहेको छ।
जिल्ला प्रशासन कार्यालयअन्तर्गतको आप्रवासी स्रोत केन्द्रको समन्वयमा वैदेशिक रोजगार बोर्ड, परराष्ट्र मन्त्रालय र जर्मनमा रहेको नेपाली दूतावासको समन्वयमा गत कात्तिक २५ गते डुंगा दुर्घटना हुँदा घाइते र अलपत्र बनेका विकको उद्धार भएको हो। गत साता जन्मथलो आइपुगेका विकले नयाँ जीवन पाएको प्रतिक्रिया दिए।
सर्बियामा काम र ज्याला नपाएपछि इटली जान हिँडेका मलगायत १३ जना नेपाली चढेको डुुंगा दुर्घटना हुँदा पानीमा डुबेर घाइते अवस्थामा त्यहाँको प्रहरीले उद्धार गरेर उपचार गरे पनि राहदानीलगायत कागजात नहुँदा अलपत्र बनेको थिएँ’, भुवनले भने, ‘मलाई त्यहाँ लैजाने सन्तोष विक, किसान विक र कमल अधिकारीले बेवास्ता गरेपछि घरमा खबर गरेर आप्रवासी स्रोत केन्द्रमार्फत उद्धार भएर घर आउन पाउँदा नयाँ जीवन पाएको महसुस गरेको छु।’
चिसो पानीमा डुबेको र पानी निलेका कारण स्वास्थ्यमा गम्भीर समस्या भएका भुवनको स्वास्थ्यमा सुधार भए पनि आन्द्राको समस्या अझै निको हुन नसकेको बताए। उनीहरु सर्बियामा जागिर र काम गरेको ठाउँमा तलब नपाएपछि त्यहाँबाट भागेर अवैध बाटोबाट इटली जाने क्रममा दुर्घटनामा परेका हुन्।
आप्रवासी स्रोत केन्द्र म्याग्दीका कर्मचारी प्रमिला पौडेलले भुवनकी श्रीमती मीनाले गत पुस २३ गते पेस गरेको निवेदनको आधारमा गृह, परराष्ट्र मन्त्रालय, वैदेशिक रोजगार बोर्ड, जर्मन दूतावाससँग समन्वय गरेर उद्धार गरिएको जानकारी दिए।
प्रतिव्यक्ति ११ लाख तिरेर भुवनसँगै सर्विया पुगेका म्याग्दीका अन्य तीन पनि भनेजस्तो काम र तलब नपाएपछि घर फर्किएका छन्। भुवनसँगै डुंगा दुर्घटनामा परेका बेनी–९ काउलेगौंडाका विष्णे सार्कीको अवस्था भने अझै अज्ञात रहेकाले खोजी गरिदिन उनका आफन्तले आप्रवासी स्रोत केन्द्रमा निवेदन दिएका छन्।
विष्णेका भाइ दिलगोपालले डुंगा दुर्घटना भएको दिनदेखि सम्पर्कविहीन विष्णेको अवस्था पहिचान र उद्धारका लागि भएको पहलबाट अहिलेसम्म उपलब्धि नहुँदा निरास बनेको बताए। ‘सर्बियाको प्रहरीको नियन्त्रणमा रहेको अथवा अस्पतालमा उपचार गराइरहेको हुन सक्ने अनुमान गरेका छौं,’ उनले भने, ‘अवस्था पहिचान नुहँदा अलमलमा परेका छौं।’–रासस