काठमाडौं। बढ्दो मुद्रास्फीतिलाई नियन्त्रण गर्न अष्ट्रेलियाको केन्द्रीय बैङ्कले दुई वर्षभन्दा बढी समयपछि पहिलो पटक ब्याजदर बढाएको छ।
अष्ट्रेलियाको केन्द्रीय बैङ्कले सन् २०२६ को पहिलो मौद्रिक नीति बैठकमा सर्वसम्मत निर्णय गर्दै नगद ब्याजदर ३ दशमलव ६० प्रतिशतबाट बढाएर ३ दशमलव ८५ प्रतिशत पुर्याएको जनाएको छ।
यो निर्णय सन् २०२३ नोभेम्बरपछि गरिएको पहिलो ब्याजदर वृद्धि हो। यसअघि सन् २०२५ मा बैंकले तीन पटक गरी कुल शून्य दशमलव २५ प्रतिशतले ब्याजदर घटाएको थियो।
केन्द्रीय बैङ्कको मौद्रिक नीति समितिका अनुसार सन् २०२२ मा उच्च विन्दुमा पुगेको मुद्रास्फीति त्यसपछि उल्लेख्य रुपमा घटेको भए पनि सन् २०२५ को दोस्रो भागमा फेरि तीव्र रुपमा बढेको हो।
अष्ट्रेलियाको तथ्याङ्क विभागले सार्वजनिक गरेको पछिल्लो विवरणअनुसार सन् २०२५ डिसेम्बरसम्मको बाह्र महिनामा उपभोक्ता मूल्य सूचकाङ्क ३ दशमलव ८ प्रतिशतले वृद्धि भएको छ। जुन अघिल्लो महिनाको ३ दशमलव ४ प्रतिशतभन्दा बढी हो।
केन्द्रीय बैंकले मुख्य सूचकका रूपमा लिने आधारभूत मुद्रास्फीति दर पनि डिसेम्बरमा ३ दशमलव ३ प्रतिशत पुगेको छ। जुन अघिल्लो महिनामा ३ दशमलव २ प्रतिशत थियो।
मौद्रिक नीति समितिले मुद्रास्फीति अझै केही समय २ देखि ३ प्रतिशतको लक्ष्य दायराभन्दा माथि रहने सम्भावना रहेको जनाएको छ। समितिका अनुसार निजी क्षेत्रको माग अपेक्षाभन्दा छिटो बढिरहेको छ। उत्पादन क्षमतामा दबाब बढेको छ र श्रम बजार पनि केही कडा अवस्थामा रहेको छ।
केन्द्रीय बैङ्कले सार्वजनिक गरेको अद्यावधिक अनुमानअनुसार सन् २०२६ को मध्यसम्म वार्षिक मुद्रास्फीति दर ४ दशमलव २ प्रतिशत पुग्ने अपेक्षा गरिएको छ। त्यसपछि सन् २०२७ को मध्यसम्म मुद्रास्फीति घटेर २ दशमलव ९ प्रतिशतमा झर्ने अनुमान गरिएको छ।