टोकियो/सियोल। अमेरिका र इजरायलले इरानमाथि गरेको हमलापछि मध्यपूर्वमा भड्किएको युद्धको ज्वाला अब विश्वको व्यापारिक मञ्चसम्म फैलिएको छ। बारुदको धुवाँ र बमको आवाज त्यहीँ सीमित रहेन— त्यसको असर हजारौं किलोमिटर टाढा, जापान र दक्षिण कोरियाका साना व्यापारीहरूको जीवनमा समेत गाढा छाया बनेर ओर्लिएको छ।
जापानमा दुई दशकदेखि बसोबास गर्दै आएका श्रीलङ्काली मूलका व्यापारी उमर अली हैदर अलीको दैनिकी युद्ध सुरु भएको भोलिपल्टदेखि नै उथलपुथल भइसकेको थियो। उनको योकोहामा स्थित कम्पनी कोबे मोटरले प्रतिवर्ष करिब १८ हजार पुराना कार दक्षिण एसिया, मध्यपूर्व र अफ्रिकामा निर्यात गर्छ। जापानका कडा सरकारी नियम र नियमित मर्मतसम्भारका कारण त्यहाँका पुराना कारहरू विश्वभर भरपर्दा र राम्रो अवस्थामा हुने मानिन्छ, त्यसैले यिनको माग पनि उत्तिकै बढी छ। तर युद्ध भड्किएपछि एक बिहान उनी उठ्दा थाहा पाए— ५ सयभन्दा बढी कार बोकेको उनको जहाज समुद्रमै अलपत्र परेको छ।
दुबईबाट विमुख भएका अन्य मालवाहक जहाजहरूले श्रीलङ्काको बन्दरगाह भरिएकाले उनका कारहरू पोर्टमा छिर्नै सकेनन्। "हाम्रा कारहरू समुद्रमा तैरिरहे। ठाउँ नभएकाले बन्दरगाहमा छिर्न नै सकिएन," उनले भने। अन्ततः ती कारहरू दस दिनभन्दा बढी ढिलो गरी हम्बनटोटा बन्दरगाहमा उतारिए। त्यति मात्र होइन, उनका रोल्स रोयस, ल्याम्बोर्गिनी र फेरारीजस्ता करिब ५० वटा लक्जरी कारहरू मध्यपूर्वका ग्राहकहरूको प्रतीक्षामा श्रीलङ्का र चीनका बन्दरगाहमा थन्किएर बसेका छन्।
यस संकटको मूल कारण हो — होर्मुज जलसन्धि। इरान र ओमानबीच अवस्थित यो साँघुरो समुद्री नाका दुबई हुँदै जाने सबै ढुवानीको मुख्य मार्ग हो। युद्ध भड्किएसँगै यो जलसन्धि लगभग बन्द हुने अवस्थामा पुगेको छ, जसले समग्र विश्व व्यापारमा नै तरङ्ग ल्याएको छ। जापानी ढुवानी कम्पनीहरूमा त यसले सिधै आतङ्क नै छाइदिएको हैदर अली बताउँछन्। केही कम्पनीले ढुवानी नै रद्द गरे, केहीले पाकिस्तान वा चीनका वैकल्पिक बन्दरगाहतर्फ मोड्ने सुझाव दिए भने एउटा कम्पनीले त प्रति कारमा पाँच हजार अमेरिकी डलरसम्म धरौटी माग्यो। केही कारहरू फिर्ता जापान नै फर्काउनुपर्ने अवस्था पनि आउन सक्ने उनको आशङ्का छ।
दक्षिण कोरियामा पनि अवस्था उत्तिकै नाजुक छ। इन्चियोन बन्दरगाह सहरमा अवस्थित एउटा वाहन भण्डारण परिसरका अधिकारी काङ ताए-याङका अनुसार, सामान्यतः त्यहाँका अस्सी प्रतिशत कार मध्यपूर्वतर्फ जाने गर्छन् — तर हाल ७० प्रतिशतभन्दा बढी सवारीसाधन भण्डारणमै थन्किएका छन्। पहिले नै समुद्रमा पठाइएका जहाजहरू पनि आफ्नो गन्तव्यमा पुग्न नसकेर बाटैमा रोकिएका वा वैकल्पिक बन्दरगाह खोज्दै भौँतारिएका छन्।
अटोमोबाइल इन्टरनेशनलका अध्यक्ष जिन जाए-उङका लागि यो झड्का झनै पीडादायी बन्यो, किनकि संकट ठ्याक्कै त्यही समयमा आयो जुन बेला सामान्यतः कारको माग र मूल्य दुवै उकालो लाग्ने गर्छन्। उनी अहिले पहिले नै किनेका कारहरूको भण्डारण शुल्कबापत मासिक ४ करोड कोरियाली वोन खर्च गरिरहेका छन्। "जब युद्ध हुन्छ, हामीसँग प्रतीक्षा गर्नुबाहेक अर्को विकल्प हुँदैन," उनले भने। यद्यपि उनले यो मन्दीको समयमा कार किन्दै राखेर युद्धपछिको मागको फाइदा उठाउने रणनीति बनाएका छन्।
वेन्टस अटोका अध्यक्ष युन स्युङ-ह्युनको व्यथा अझ गहिरो छ। उनको कम्पनीको साढे छ अर्ब कोरियाली वोनको वार्षिक राजस्वमध्ये आधाभन्दा बढी युएइ बजारमा निर्भर छ। जनवरीको अन्तमा पठाइएका कन्टेनरहरू मार्चको सुरुमा दुबईको जेबेल अली बन्दरगाह पुग्नुपर्ने थियो, तर दक्षिण कोरियाको एचएमएम कम्पनीका जहाजहरू अहिले भारतको मुम्बईनजिकै अड्किएका छन्। माथिबाट तेलको मूल्य बढेकाले ढुवानी दर पनि उकालो लागेको छ। माल कहाँ पुग्छ भन्ने पनि थाहा छैन। "अहिलेलाई कुनै समाधान छैन," उनले निराश भएर भने।
व्यापारीहरूले अफ्रिका वा ल्याटिन अमेरिकातर्फ ढुवानी मोड्ने सम्भावना खोजे, तर विशेषज्ञहरूका अनुसार ती बजारमा त्यति धेरै माग छैन। हवाई मार्गको विकल्प पनि छ, तर अत्यधिक खर्चिलो हुने भएकाले सर्वसाधारण व्यापारीका लागि यो व्यावहारिक उपाय हुन सक्दैन।
गत वर्ष जापान र दक्षिण कोरियाले मिलेर १९ अर्ब अमेरिकी डलर बराबरका पुराना कार निर्यात गरेका थिए। दक्षिण कोरियाले मात्रै ८ लाख ८३ हजार कार निर्यात गर्यो, जसमध्ये एक तिहाइभन्दा बढी मध्यपूर्व जाने गर्थे। जापानका लागि युएइ एकल सबैभन्दा ठूलो गन्तव्य हो — गत वर्ष मात्र २ लाख २४ हजार कार, अर्थात् कुल निर्यातको १५ प्रतिशत युएइ पठाइएको थियो। विश्वव्यापी व्यापार श्रृंखला जतिसुकै सुदृढ देखिए पनि, एउटा क्षेत्रको संघर्षले हजारौं किलोमिटर टाढाका साधारण व्यापारीहरूको जीवन र जीविकालाई कम्पाउन पर्याप्त हुन्छ।