काठमाडौं। गत वैशाख १ देखि हालसम्म देशभर ७ हजार २३१ वटा विपद्का घटना भएका छन्। राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार, विपद्का ती घटनाबाट १३ हजार ९८ परिवार प्रभावित भएका छन्। यस अवधिमा ४७९ जनाको निधन भएको छ भने ३८ जना घाइते भएका छन्।
प्राधिकरणका अनुसार यस अवधिमा तीन हजार ४८० वटा आगलागीका घटना भएका छन्। यस्तै, बाढीका ३२१, पहिरोका ६०४, भारी वर्षा ४४२, चट्याङ ४०६ र सर्पदशका ६०० घटना भएका छन्।
यसैगरी वन डढेलो २७९, हुरीबतासका ४५१, जनावर आक्रमणका ५०४, लेक लागेका १२३ र हिउँपहिरोको पाँचवटा घटना भएका प्राधिकरणले जनाएको छ।
यस्तै, भूकम्पका सात, असिना, डुंगा पल्टेका दुई ÷दुई घटना हुँदा असिनासहित हुरी, शीतलहरका एक÷एक घटना घटेका छन्।
चैत १० बिहानदेखि ११ गते बिहानसम्म २६ वटा विपद्का घटना भएका प्राधिकरणले सार्वजनिक गरेको विवरणमा उल्लेख छ। एकै दिन ९ जिल्लाका १३ स्थानमा आगलागीका घटना भएका र विपद्मा परी १० जना घाइते भएका छन्।