काठमाडौं । एनआईसी बैंकले ऋणीलाई पुनः १० प्रतिशत ब्याज छुट दिने भएको छ । गत चैतमा किस्ता बुझाउने ग्राहकलाई १० प्रतिशत ब्याज छुट दिएको थियो ।
बैंकले वैशाखसम्मको किस्ता बुझाएमा लाग्ने ब्याजमा १० प्रतिशत ब्याज छुट दिने बैंकका नायब प्रमुख कार्यकारी अधिकृत सुधीरनाथ पाण्डेले बताए । वैशाख महिनासम्ममा चुक्ता भुत्तान गर्नुपर्ने सम्पूर्ण किस्ता/ब्याज रकम मसान्तभित्र चुक्ता गरेमा ब्याज रकममा थप १० प्रतिशतका साथै जरिवाना पनि छुट दिने उनले जानकारी दिए ।
‘कोरोना महामारीको असाधारण समयमा सबै सरोकारवालाहरूले असाधारण स्तरकै कदम चालेर देशको बृहत्तर अर्थतन्त्रको हित रक्षाको लागि आफ्नो हिसाबले योगदान पुर्याउन बैंकले यस्तो योजना ल्याएको हो’ पाण्डेले भने ‘ग्राहकहरूको वित्तीय भार कम हुनगई कठिन परिस्थितिको कारण सिर्जित समस्याको न्यूनीकरणमा ठोस टेवा पुग्ने विश्वास बैंकले लिएको छ ।’
नेपाल राष्ट्र बैंकको २०७६ चैत्र १६ गतेको निर्देशनको पालना गरी २०७६ चैत्र मसान्तसम्ममा चुक्ता भुक्तान गर्नुपर्ने सम्पूर्ण मासिक तथा त्रैमासिक किस्ता चैत्र महिनाभित्र भुक्तानी गरेका ऋणीहरुको हकमा नियमित ब्याजको १० प्रतिशतले हुन आउने छुट रकम ग्राहकहरुको खातामा जम्मा गरिसकेको समेत उनले जानकारी दिए । बैशाखको किस्ता बुझाउने ग्राहको ब्याज छुट रकम जेठको पहिलो साताभित्र सम्बन्धित ग्राहकको बैंक खातामा जम्मा गरिने उनले स्पष्ट पारे ।
यो सुविधा मासिक तथा त्रैमासिक किस्ताबन्दीका साथै चालुपुँजी र अन्य रिभल्विङ प्रकृतिलगायत बैंकबाट प्रवाह भएका सम्पूर्ण कर्जाहरुमा लागू हुने उनले जानकारी दिए । बैंकले २०७७ जेष्ठ महिनासम्ममा नवीकरण गर्नुपर्ने कर्जाहरूमा नवीकरण नभएको आधारमा कुनै पनि थप ब्याज, जरिवाना तथा शुल्क नलाग्ने व्यवस्था समेत गरेको छ ।
यसरी प्राप्त गर्नुपर्ने छुट रकम असारको पहिलो साताभित्र सम्बन्धित ग्राहकको बैंक खातामा जम्मा गरिने भएको छ । बैंकले प्रदान गर्ने १० प्रतिशत छुट बैंकको चैत महिनाको आधार दर ९.६१ प्रतिशत मै कर्जा उपभोग गरिरहेका ऋणीहरुको हकमा लागू नहुने जानकारी दिएको छ । बैंकले प्रदान गर्ने सहुलियतको कारणले ऋणीहरुको ब्याजदर बैंकको चैत्र महिनाको आधार दर ९.६१ प्रतिशत भन्दा कम नहुने गरी छुट प्रदान गरिने व्यवस्था गरिएको बैंकले स्पष्ट पारेको छ ।
‘कोरोनासँगको लडाई, बैंकिङ्ग गरौं घरबाट एक पाइला नबढाई’ भन्ने नाराका साथ अन्तर बैंक रकम स्थानान्तरण, बिजुली महसुल, खानेपानी महसुल, हवाई टिकट, ईन्टरनेट सेवा, बीमा तथा टेलिफोन शुल्क लगायतका भुक्तानीहरू मोबाइल तथा ईन्टरनेट बैंकिङ्ग जस्ता विद्युतीय माध्यमबाट घरबाटै निःशुल्क रुपमा तिर्न सक्ने व्यवस्था समेत बैंकले गरेको छ ।
देशभरका कुनै बैंक तथा वित्तीय संस्थाहरूको कार्ड वाहकले एनआईसी एशियाका ४६१ एटिएम प्रयोग गर्दा शुल्क नलाग्ने र यस बैंकको कार्ड वाहकले अन्य कुनै बैंक तथा वित्तीय संस्थाहरूको एटिएम प्रयोग गर्दा कुनै शुल्क नलाग्ने व्यवस्था छ ।
मुलुकभर ३१९ शाखा कार्यालय, ४६१ एटिएम, १०८ वटा एक्स्टेन्सन काउण्टर र ६१ वटा शाखारहित बैंकिङ्ग सेवा प्रदान गर्ने मुलुककै सबैभन्दा ठूलो शाखा सञ्जाल भएको बैंक हो ।