काठमाडौं। नेपाली अटो बजारमा लक्जरी मोटरसाइकल सेग्मेन्टमा नयाँ आयाम थपिँदैछ। इटालियन प्रिमियम ब्रान्ड ‘मोर्बिडेली’का पाँच नयाँ मोडल बिहीबार सार्वजनिक हुँदैछन। नेपालका लागि टोयोटा गाडीको आधिकारिक वितरक वैद्य अर्गनाइजेसन अफ इन्डस्ट्रिज एण्ड ट्रेडिङ हाउसेस (भोइथ)ले ती मोटरसाइकल सार्वजनिक गर्न लागेको हो। कम्पनीका अनुसार बाइकको मूल्य न्यूनतम ९ लाखदेखि अधिकतम ४५ लाख रुपैयाँसम्म पुग्ने अनुमान गरेको छ। यद्यपि आधिकारिक मूल्य भने सार्वजनिक गरिएको छैन।
बढ्दो एड्भेन्चर राइडिङ संस्कृति र उच्च आय वर्गका ग्राहकहरूको रुचिलाई लक्षित गर्दै सार्वजनिक हुन लागेको सो बाइकको मूल्यमा पछिल्लो समय गाडी नै पाउन थालिएको छ। अहिले विद्युतीय सवारी साधन(ईभी) गाडी ४५ लाखभन्दा कम मूल्यमा छानीछानी पाउन थालिएको छ।
मोर्बिडेली ब्रान्डको पाँँच नयाँ मोडल ल्याएको वैद्य इनर्जीका प्रमुख कार्यकारी अधिकृत (सिईओ) सूर्यांश वैद्यले बताए। ‘हामीले अहिले मोर्बिडेलीको पाँँच नयाँ मोडल सार्वजनिक गर्ने तयारी गरेका छौं। त्यसमा एउटा १००० सीसीको बाइक पनि छ।’ कम्पनीले अहिले सबैभन्दा धेरै १००० सीसीको बाइक सार्वजनिक गर्ने उनको भनाइ छ।
‘मोर्बिडेलीको पहिलो शोरुम काठमाडौंको नक्सालस्थित बेनेली मोटरसाइकल ब्राण्डकै ठाउँमा रहनेछ,’ उनले भने, ‘मोर्बिडेली बाइको लागि बेनेली बाइकको सोरुममा नै पुननिर्माण गरेका छौं। हाल तीन वटा सर्भिस सेन्टर सञ्चालनमा ल्याउने योजना छ।’ पहिलो चरणमा तीनकुने, उत्तरढोका र भक्तपुरमा मोर्बिडेलीको सर्भिस सेन्टर रहने उनको भनाइ छ।
सिईओ वैद्यकाअनुसार उपत्यका बाहिर विस्तारको योजना तत्काल नभए पनि सम्भावित डिलरको खोजी भइरहेको छ। पहिलो चरणमा उपत्यकामा भने तीनकुने, उत्तरढोका र भक्तपुरमा सर्भिस सेन्टर रहने छ। हुन त वैद्य अर्गनाइजेशनले नेपालमा बेच्ने टोयोटा गाडी पनि महंगो ब्राण्ड भित्र पर्ने गरेको छ।
यस्तै केहि वर्ष अघिबाट विक्रि गर्दै आएको विद्युतीय स्कुटर एथर पनि महंगो भित्र पर्दै आएको छ। ब्राण्डमा लिगेसी बोकेको कारणले पनि राम्रो कम्पनी छान्दा महंगो मूल्य पर्न गएको बताउदै ग्राहकको रोजाईमा कुनै फरक नपर्ने कम्पनीको दाबी छ।
यस्तो छ मोर्बिडेली टी १००२ भीएक्स
मोर्बिडेली इटालीको विश्व चर्चित ब्राण्ड हो। यसका मोटरसाइकल विशेष डिजाइन, शक्तिशाली इन्जिन र ऐतिहासिक रेसिङ विरासतका लागि प्रख्यात मानिन्छ। अहिले दुई पांग्रे सवारीसाधन लिएर एड्भेन्चर राइडिङ गर्नेहरुको उत्साह बढ्दै गएकाले टी १००२ भीएक्स ल्याएको सिईओ वैद्यले बताए।
‘१००२ भीएक्सको क्वालिटी एकदमै राम्रो छ। अरू १००० सीसीका बाइकहरु एक करोडभन्दा माथि नै पर्छन्, तर यो चाहिँ तुलनात्मक रुपमा किफायति रेन्ज भित्रपर्छ।’ वैद्यले भने। मोर्बिडेली टी १००२ भीएक्स प्रिमियम एड्भेन्चर मोटरसाइकल हो। यो मोटरसाइकलमा ९९७ सीसी भी ट्वीन ८ भल्भ इन्जिन रहेको छ।
यो इन्जिनले ८८.५ हर्षपावर र ८९ एनएम टर्क उत्पादन गर्छ। यसमा ६ स्पीडको गियरबक्सका साथै स्लिपर क्लच उपलब्ध छ। यो मोटरसाइकलको फ्रन्टमा केवाइबीको ४३ एमएम फुल्ली एडजष्टेबल यूएसडी फोर्क र रियरमा केवाइबी मल्टिलिंक मोनोशक सस्पेनस पाउन सकिन्छ।

मोर्बिडेली टी १००२ भीएक्सको फ्रन्ट ह्वीलमा ३२० एमएम ट्वीन डिस्क र रियरमा २६० एमएम सिंगल डिस्कसहित बशको एबीएस सिस्टम उपलब्ध छ। यसको अगाडि १९ र पछाडि १७ इन्चको ट्युबलेस स्पोक ह्वील दिइएको छ। यो एड्भेन्चर टूरर मोटरसाइकलमा २० लिटरको इन्धन ट्यांक छ। यसको सिट हाइट ८२० एमएम मात्र छ।
यो मोटरसाइकलमा ७ इन्च टीएफटी स्क्रीनका साथै, ब्लुटूथ कनेक्टिभिटी उपलब्ध छ। यसमा चार राइडिङ मोड रेन, स्ट्याण्डर्ड, स्पोर्टस् र अफरोड पाउन सकिन्छ। यसमा ट्रयाक्सन कन्ट्रोलका साथै क्रुज कन्ट्रोज जस्ता फिचर उपलब्ध छन्। यसमा हिटेड ग्रिप, हिटेड सिट, अल एलईडी सेटअप र एडजष्टेबल विन्ड स्क्रीन उपलब्ध छ।
मोर्बिडेलीको सुरुवात र रेसिङ विरासत
मोर्बिडेलीको स्थापना सन् १९३४ मा इटालीको पेसारोमा जियानकार्लो मोर्बिडेलीले गरेका थिए। सुरुमा यो फर्निचर बनाउने मेसिन उत्पादन गर्ने कम्पनी थियो, तर जियानकार्लोको मोटरसाइकलप्रतिको लगावका कारण सन् १९६० को दशकको अन्त्यतिर उनले मोटरसाइकल उत्पादन सुरु गरे।
सन् १९६० र ७० को दशकमा जियानकार्लो मोर्बिडेलीको नेतृत्वमा कम्पनीले ग्रान्ड प्रिक्स मोटरसाइकल रेसिङमा उल्लेखनीय सफलता हासिल ग¥यो। मोर्बिडेलीले १२५सीसी र २५०सीसी क्याटेगोरीमा विश्व च्याम्पियनशिप जित्दै आफूलाई एक प्रतिस्पर्धी र नवप्रवर्तनशील ब्रान्डको रूपमा स्थापित ग¥यो। यसको रेसिङ हेरिटेज नै ब्रान्डको सबैभन्दा ठूलो पहिचान बन्यो।
रेसिङमा सफलता हासिल गरे पनि व्यावसायिक रूपमा ठूलो स्तरमा उत्पादन विस्तार गर्न मोर्बिडेली सफल हुन सकेन। रेसिङ हेरिटेज बलियो भए पनि उच्च प्रतिस्पर्धा र सीमित उत्पादन क्षमताका कारण यसको सञ्चालन लामो समयसम्म इटलीमै सिमित रह्यो।पछिल्लो समय भने चिनियाँ अटोमोबाइल समूह क्यूजे ग्रुपले मोर्बिडेली ब्रान्ड किनेपछि यो विस्तार हुँदै गयो।
क्यूजे ग्रुपको लगानी र प्रविधिको सहयोगमा मोर्बिडेलीले आधुनिक डिजाइन, उन्नत प्रविधि र विभिन्न सेग्मेन्टका नयाँ–नयाँ मोडलहरू बजारमा ल्याउन थालेको छ। यससँगै, पहिले सानो दायरामा सीमित रहेको यो ब्रान्ड अहिले अन्तर्राष्ट्रिय बजारमा विस्तार हुने दिशातर्फ अघि बढिरहेको छ।