काठमाडौं। रुकुमपूर्वको पुथा उत्तरगंगा गाउँपालिकामा रहेको पर्यटकीय स्थल सुनदहको प्रवर्द्धन गर्ने उद्देश्यले निर्माण गरिएको वृत्तचित्र सार्वजनिक गरिएको छ।
पुथा उत्तरगंगा गाउँपालिका र नेपाल पर्यटन बोर्डको सहकार्यमा भएको सार्वजनिक कार्यक्रममा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सुनदहलाई अन्तर्राष्ट्रिय स्तरमा प्रवर्द्धन गर्दै विशेष गन्तव्यका रूपमा विकास गरिनुपर्ने बताए। उनले पूर्वाधार निर्माण, प्रभावकारी प्रचारप्रसार र समन्वयात्मक पहल आवश्यक रहेको धारणा व्यक्त गरे।
उनले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, नेपाल पर्यटन बोर्ड र स्थानीय तहबीच सहकार्य बढाएर सुनदहको प्रवर्द्धन गर्नुपर्नेमा जोड दिए। लुम्बिनी प्रदेशका प्रदेशसभा सदस्य दिलकुमारी बुढाले सुनदहलाई स्वर्गबाट चोइटिएर खसेको टुक्राको संज्ञा दिँदै आन्तरिक तथा बाह्य पर्यटकलाई भ्रमण गर्न आग्रह गरे। उनले यसको प्रवर्द्धनमा आफूहरू प्रतिबद्ध रहेको स्पष्ट पारे।
पर्यटन बोर्डका वरिष्ठ प्रबन्धक सूर्य थपलियाले सुनदहलाई विशिष्ट भौगोलिक विशेषता बोकेको गन्तव्यका रुपमा उल्लेख गरे। उनले सुनदहसहित रुकुम पूर्वका पर्यटकीय गन्तव्यको ब्रान्डिङ गर्नुपर्ने बताए।
कार्यक्रममा पुथा उत्तरगंगाका अध्यक्ष पुनिराज घर्ती, पुथा उत्तरगंगा–३ का वडाध्यक्ष बमबहादुर बुढालगायतले आ–आफ्नो धारणा राखेका थिए।
समुद्री सतहबाट चार हजार ४३५ मिटर उचाइमा रहेको सुनदह प्राकृतिक, जैविक तथा सांस्कृतिक दृष्टिले अत्यन्तै महत्वपूर्ण स्थलका रूपमा चिनिन्छ। यहाँ रेड पाण्डा, कस्तुरीलगायत दुर्लभ तथा लोपोन्मुख वन्यजन्तु र चराचुरुंगी, यार्साजस्ता बहुमूल्य जडीबुटी पाइन्छन्।–रासस