धरान। नेपाल युवा उद्यमी मञ्च (निफ) सुनसरी च्याप्टरले आगामी फागुन १६ गते धरान गल्फ क्लब धरानमा हुने भएको छ। यो निफ गल्फ प्रतियोगिता २०२६ आयोजना भएसँगै खेलदेखि नेटवर्किङसम्मको राष्ट्रिय संगम हुने भएको छ।
एक दिने राष्ट्रिय स्तरको यस प्रतिष्ठित गल्फ प्रतियोगितामा नेपालका विभिन्न सहरबाट आउने उत्कृष्ट गल्फ खेलाडीका साथै भारतबाट समेत सहभागी खेलाडीहरूको उपस्थिति रहने अपेक्षा गरिएको छ।
प्रतियोगिताले खेल भावना, सौहार्दता तथा व्यवसायिक नेटवर्किङलाई एकै मञ्चमा जोड्ने भएको छ। यस प्रतियोगिताले खेलकुद र उद्यमशीलताको समन्वय गर्ने लक्ष्य लिएको छ।
उद्यमी, व्यवसायी, पेशाकर्मी तथा गल्फप्रेमीहरूबीच सहकार्य र सम्बन्ध विस्तार गर्ने उत्कृष्ट अवसरका रुपमा कार्यक्रमलाई लिइएको छ।
प्रतियोगिताका मुख्य उद्देश्यहरू:
- पूर्वी नेपालमा गल्फ खेलको प्रवर्द्धन।
- धरानका जुनियर गल्फ खेलाडीहरूको विकास र आर्थिक सहयोग।
- उद्यमी तथा व्यवसायीहरूबीच उच्चस्तरीय नेटवर्किङ अवसर सिर्जना।
- नेतृत्व विकास र सहकार्यको वातावरण सुदृढ पार्नु।
प्रतियोगिताबाट संकलित सहयोगको एक अंश धरानका प्रतिभाशाली जुनियर गल्फ खेलाडीको तालिम, उपकरण तथा अन्य आवश्यक स्रोत साधनका लागि खर्च गरिने छ। यसले स्थानीय युवा खेलाडीलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा प्रतिस्पर्धा गर्न सक्षम बनाउने विश्वास गरिएको छ।
निफ सुनसरी च्याप्टरले यस प्रतियोगिताले धरानलाई उच्च स्तरीय खेलकुद तथा व्यावसायिक नेटवर्किङ कार्यक्रमको केन्द्रका रुपमा स्थापित गर्न महत्वपूर्ण योगदान पुर्याउने विश्वास लिएको छ।