काठमाडौं। नेपालमा अलकत्रा (बिटुमिन) आयात परिमाण बढेको छ। यसको विपरीत राजस्व संकलनमा गिरावट आएको छ।
भन्सार विभागका अनुसार चालू आर्थिक वर्ष २०८२/८३ को पहिलो ६ महिना (पुस मसान्त)मा बिटुमिनको आयात परिमाणमा वृद्धि भएको छ। अघिल्लो वर्ष ६ महिनाको तुलनामा आयात बढे पनि यसबाट संकलन हुने राजस्वमा भने केही कमी देखिएको छ।
भन्सार विभागका अनुसार तीन आर्थिक वर्षको पुस मसान्तसम्मको बिटुमिन आयातमा परिमाण बढ्ढो, राजस्व संकलनमा गिरावट देखिएको छ। भन्सार विभागका अनुसार, गत वर्षको तुलनामा यस वर्ष बिटुमिनको आयात परिमाण (किलोमा) बढेको देखिन्छ। तर, आयात मूल्य र राजस्व संकलनमा भने गिरावट आएको छ।
चालू आर्थिक वर्ष २०८२/८३ (पुससम्म) मा १० करोड ५४ लाख ९३ हजार ५४५ किलो बिटुमिन आयात भएको छ। गत वर्ष २०८१/८२ को तुलनामा बिटुमिनको आयात परिमाणमा एक करोड २५ लाख ७६ हजार किलो आयात वृद्धि भएको छ।
अघिल्लो आर्थिक वर्ष २०८१/८२ (पुससम्म)सम्म गत वर्षको सोही अवधिमा ९ करोड २९ लाख १७ हजार ५४० किलो बिटुमिन आयात भएको थियो।
यस्तै, आयात रकम भने घटेको छ। अघिल्लो वर्षको तुलनामा यस वर्ष ७ करोड ६६ लाख ०६ हजार कम रुपैयाँ रकमको बिटुमिन आयात भएको विभागको तथ्यांक छ। चालू आर्थिक वर्षको ६ महिनामा कुल मूल्य १ अर्ब २९ करोड १५ लाख ७६ हजार रुपैयाँको बिटुमिन आयात भएको छ। अघिल्लो आर्थिक वर्ष बिटुमिन आयात हुँदा १ अर्ब ३६ करोड ८१ लाख ८१ हजार रुपैयाँ रकमको आयात भएको छ।
अघिल्लो आर्थिक वर्षको तुलनामा यो वर्ष राजस्वमा पनि गिरावट आएको छ। अघिल्लो आर्थिक वर्षमा ३१ करोड ६९ लाख ३० हजार रुपैयाँ राजस्व संकलन भएको थियो। यो वर्ष ७४ लाख २६ हजार रुपैयाँ राजस्व संकलनमा कमी भएको छ।
सरकारले यो वर्षको ६ महिनामा ३० करोड ९५ लाख ४ हजार रुपैयाँ मात्रै राजस्व संकलन गरेको विभागको तथ्यांक छ। यस्तै, आर्थिक वर्ष २०८०/८१ को अर्को सोही अवधिमा ३ करोड ४९ लाख २७ हजार ९०० किलो आयात भई ५७ करोड ५५ लाख ८८ हजार रुपैयाँ मूल्य बराबरको विटुमिनबाट १० करोड ६१ लाख ३६ हजार रुपैयाँ राजस्व उठेको विभागले जनाएको छ।
नेपाल संघीयतापछि बिटुमिन आयात ह्वात्तै बढेको छ। संघीयताअघि अर्थात् आर्थिक वर्ष २०७४/७५ मा ४४ हजार टन बिटुमिन ल्याउन नेपालले २ अर्ब २ करोड ७५ लाख ४० हजार रुपैयाँ खर्चिएको थियो। तर, गत आर्थिक वर्ष २०८१/८२ मा ११ अर्ब ४१ करोड बराबरको १५ करोड किलो बराबर बिटुमिन भित्रिएको छ। यसले संघीयतापछि पालिका स्तरमै कालोपत्रे सडक निर्माण भएको देखिन्छ।
यसैगरी २०७३/७४ मा १ अर्ब २ करोड ८८ लाख ६० हजार रुपैयाँको ४० हजार टन बिटुमिन आयात भएको छ। २०७२/७३ मा १ अर्ब ९४ करोड ६६ लाख ८५ हजार बराबरको ३३ हजार टन बिटुमिन आयात भएको भन्सार विभागको तथ्यांक छ। आर्थिक वर्ष २०७५/७६ मा ६ अर्ब ३७ करोड ६७ लाख ६९ रुपैयाँको १ लाख १८ हजार टन बिटुमिन आयात भएको छ।
आर्थिक २०७५/७६ मा १ लाख ८५ हजार टनको बिटुमिन आयात गर्दा ७ अर्ब ६१ करोड २ लाख ३७ हजार रुपैयाँ रकम खर्च भएको छ। संघीयताअगावै हजार टनमा सिमित रहेको बिटुमिनको परिमाण १ लाख बढी टन आउन थालेको छ। यस्तै, १ देखि २ अर्ब रुपैयाँको आयात हुने बिटुमिन हाल वार्षिक ११ अर्ब रुपैयाँ पुगेको भन्सार विभागको तथ्यांक छ।