काठमाडौं। नेपाली कम्युनिष्ट पार्टी (नेकपा)ले आर्थिक सुधारलाई जोड दिँदै आगामी प्रतिनिधिसभा सदस्य निर्वाचन २०८२ का लागि प्रतिबद्धता पत्र सार्वजनिक गरेको छ।
पार्टी मुख्यालय पेरिसडाँडामा आज आयोजित कार्यक्रममा पार्टी संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले यस प्रतिबद्धतापत्र सार्वजनिक गरेका हुन्।
प्रतिबद्धता पत्रमा आत्मनिर्भर राष्ट्रिय अर्थतन्त्रको विकास, स्थानीय तह र समुदायबाटै समाजवादको अभ्यास, जनताको घरदैलोसम्म गुणस्तरीय सेवा प्रवाह, आर्थिक विकास, समृद्धि, सुशासन, पारदर्शीता र मितव्ययितालाई विशेष प्राथमिकतामा राखिएको छ।
शैक्षिक तथा स्वास्थ्य क्षेत्रको गुणस्तरीय पूर्वाधार, समृद्धिको आधार एवं उद्यमशीलता, उद्यमी परिवार, गाउँ–सहर एवं घर–घरमा रोजगार दिलाउने प्रतिबद्धता पत्रमा उल्लेख छ।
नेकपाले सार्वजनिक पद धारणा गरेका सबै व्यक्तिको सम्पत्ति छानबिन गर्ने, एक वर्षको समयसीमा तोकी ‘उच्च स्तरीय सम्पत्ति छानबिन आयोग’ गठन गर्ने, आगामी ५ वर्षभित्र आर्थिक वृद्धिदर (१० प्रतिशत माथि) हासिल गर्ने, प्रतिवर्ष ५ लाख रोजगारी सिर्जना गर्ने, १ लाख रिटर्नी युवालाई उद्यमी बनाउनेलगायतको नीति अघि सारेको छ।