काठमाडौँ। अर्थमन्त्री रामेश्वरप्रसाद खनालले आगामी निर्वाचन सङ्घीयता, गणतन्त्र र लोकतन्त्रको भविष्य सुनिश्चित गर्ने निर्णायक अवसर भएको भन्दै स्वच्छ र निष्पक्ष निर्वाचन अपरिहार्य रहेको बताएका छन्।
आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठानद्वारा आज यहाँ आयोजित नेपाल आदिवासी ज्ञान सम्मेलनको समापन समारोहमा उहाँले सबै जातजाति, भाषा र समुदायलाई समान राजनीतिक अधिकार र आत्मसम्मान दिलाउन निर्वाचन सफल हुनुपर्नेमा जोड दिए।
निर्वाचनमार्फत मात्रै समावेशी सङ्घीय शासन प्रणालीलाई मजबुत बनाउन सकिने अर्थमन्त्री खनालको भनाइ थियो। विविधताको सम्मान र समावेशी राजनीतिक व्यवस्थाबिना लोकतन्त्र बलियो नहुने उनको तर्क थियो।
“केन्द्रमा अधिकार राखेर तल दायित्व मात्रै थोपर्ने सङ्घीयताले काम गर्दैन। अधिकार, स्रोत र निर्णय गर्ने क्षमता तल्लो तहसम्म हस्तान्तरण गर्नुपर्छ,” अर्थमन्त्री खनालले भने, “यदि स्वच्छ र निष्पक्ष निर्वाचन सम्पन्न भयो भने मात्रै सबै जातजाति र समुदायले राजनीतिक अधिकार, विकास र आत्मसम्मानको अनुभूति गर्न सक्छन।”
नेपाल जातीय, भाषिक र सांस्कृतिक विविधतायुक्तमुलुक भएको उल्लेख गर्दै उनले विविधतालाई समस्या नभइ राष्ट्रिय सम्पत्तिका रुपमा लिनुपर्ने धारणा व्यक्त गरेका थिए। यस सम्मेलनबाट निस्कने निष्कर्ष तथा सुझावलाई आगामी सरकारलाई लिखित रूपमा बुझाउने प्रतिबद्धतासमेत उनले व्यक्त गरे।
प्रतिष्ठानको रजत जयन्तीको अवसरमा माघ २५ देखि २७ गतेसम्म राष्ट्रियसभा गृहमा यस सम्मेलन सञ्चालन गरिएको थियो। सम्मेलन आदिवासी समुदाय, विद्वान, अध्येता र नीति निर्माणकर्ताको सहभागितामा आदिवासी ज्ञानको आदानप्रदान, संरक्षण र पुनर्जीवनका लागि प्रयासमा केन्द्रीत भएको प्रतिष्ठानका उपाध्यक्ष रेशम गुरुङले बताए।
बौद्धिक विमर्श, नीतिगत संवाद र सांस्कृतिक उत्सवका कार्यक्रम सम्मेलनको विशेषताका रूपमा रहेका थिए। सम्मेलनमा देशभरका विभिन्न आदिवासी जनजाति समुदायका झण्डै तीन सय प्रतिनिधिको सहभागी रहेको थियो।