काठमाडौं। ललितपुरमा बेस्ट वेस्टर्न प्लस गोदावरी रिसोर्टको औपचारिक उद्घाटन गरिएको छ। गोदावरी फरेस्ट होटल लिमिटेडले आजदेखि रिसोर्ट पूर्ण रूपमा सञ्चालनमा आएको घोषणा गर्दै नेपालको आतिथ्य क्षेत्रमा नयाँ अध्याय सुरु भएको जनाएको छ।
रिसोर्टको उद्घाटन नेपाल सरकारका संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री माननीय श्री अनिल कुमार सिन्हाद्वारा सम्पन्न भएको हो। गोदावरीको शान्त र हरियालीले घेरिएको प्राकृतिक वातावरणमा अन्तर्राष्ट्रिय स्तरको विलासी सेवा सुरु हुनु क्षेत्रकै लागि महत्वपूर्ण उपलब्धि मानिएको छ।
अमेरिकास्थित बेस्ट वेस्टर्न इन्टरनेशनलसँगको व्यवस्थापन सम्झौताअन्तर्गत सञ्चालन हुने यस रिसोर्टले काठमाडौँ उपत्यकाको दक्षिणी भेगमा विश्वस्तरीय सेवा मापदण्ड भित्र्याएको छ। उद्घाटन समारोहमा विभिन्न तहका सरकारका प्रतिनिधि, व्यवसायिक क्षेत्रका अगुवा, शेयरधनी, स्थानीय समुदाय तथा सञ्चारकर्मीको उल्लेखनीय उपस्थिति रहेको थियो।
वन क्षेत्रको बीचमा अवस्थित यस रिसोर्टमा एक्जिक्युटिभ सुइटसहित ८३ वटा आकर्षक कोठा तथा सुइट छन्। आधुनिक शैली र स्थानीय सांस्कृतिक तत्वहरूको समन्वयले बस्ने पाहुनालाई सुविधा र प्रकृतिको शान्ति दुवै अनुभव गर्न सकिने व्यवस्था मिलाइएको छ।
रिसोर्टमा विभिन्न प्रकारका आवास कक्ष, प्रिमियम खानपान सेवा, मुख्य भोजनालय, रूफटप भोजन स्थल, निजी भोजन कक्ष तथा इन्फिनिटी पोखरीको सुविधा उपलब्ध छ। त्यस्तै परम्परागत उपचारसहितको स्पा, पूर्ण सुसज्जित व्यायामशाला, साउना, स्टीम, सैलुन सेवा र तापक्रम नियन्त्रित पोखरीले स्वास्थ्य र आरामको सम्पूर्ण अनुभव प्रदान गर्ने व्यवस्थापनको दाबी छ।
सम्मेलन, गोष्ठी, वैवाहिक तथा सामाजिक कार्यक्रम आयोजना गर्न बोर्ड मिटिङ कक्षसहित तीन आधुनिक सभाहल तयार गरिएको छ। रिसोर्ट फुलचोकी डाँडाको फेदीमा अवस्थित राष्ट्रिय वनस्पति उद्यान, गोदावरी कुण्ड, गोदावरी मन्दिर लगायतका धार्मिक तथा प्राकृतिक आकर्षणहरूको नजिकै पर्छ। हरियाली, पहाडी भू-दृश्य र शान्त वातावरणका कारण गोदावरी पछिल्ला वर्षमा आन्तरिक तथा बाह्य पर्यटकको रोजाइमा पर्दै आएको छ।
अध्यक्ष विजय मल्लले रिसोर्टको उद्घाटन काठमाडौं उपत्यकाको आतिथ्य क्षेत्रमा ऐतिहासिक क्षण भएको बताउँदै नेपाली आतिथ्यताको आत्मीयता र अन्तर्राष्ट्रिय स्तरको सेवाको संयोजनमार्फत उत्कृष्ट अनुभव प्रदान गर्ने प्रतिबद्धता व्यक्त गरे। उनका अनुसार यस परियोजनाले पर्यटन प्रवर्द्धन, रोजगारी सिर्जना र स्थानीय अर्थतन्त्र सुदृढीकरणमा योगदान पुर्याउने अपेक्षा गरिएको छ।
उद्घाटनको अवसरमा पहिलो तीन महिनाभित्र बुकिङ गर्ने पाहुनाहरूका लागि २० प्रतिशत छुट र निःशुल्क बिहानको खाना उपलब्ध गराइने विशेष योजना पनि सार्वजनिक गरिएको छ। गोदावरी फरेस्ट होटल लिमिटेडले दिगो पर्यटन अभ्यास र गुणस्तरीय सेवामार्फत नेपालमा उत्कृष्ट आतिथ्य अनुभव विस्तार गर्ने लक्ष्य लिएको जनाएको छ।