काठमाडौं। रिलायन्स स्पिनिङ मिल्सले नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले तोकेको कम्पनीको सेयरको पहिलो कारोबार मूल्य सीमा (ओपनिङ रेन्ज)प्रति ध्यानाकर्षण भएको बताएको छ। सेयरको ओपनिङ रेञ्ज १०० देखि ३०० रुपैयाँ निर्धारण गरिनु अंकित मूल्यको तीन गुणासम्म मात्र रहेको रिलायन्सको भनाइ छ।
यो सीमा यसअघि अन्य कम्पनीको सूचीकरणका क्रममा अवलम्बन गरिएका आधार र अभ्याससमेत विपरीत रहेको कम्पनीको बुझाइ छ। नेपाल धितोपत्र बोर्डले बुक बिल्डिङ विधिसम्बन्धी निर्देशिका बमोजिम कम्पनीलाई सेयर निष्कासन अनुमति दिएको थियो।
बुक बिल्डिङ आधुनिक विधि भएकाले निष्कासित सेयरको सूचीकरण सम्बन्धमा आवश्यक कानुनी तथा नीतिगत व्यवस्था गर्नुपर्ने नियामक निकायको जिम्मेवारी रहेको रिलायन्सले बताएको छ। कम्पनीले बुक बिल्डिङ विधि सामान्य विधिभन्दा फरक रहेको हुँदा सेयर सूचीकरणको प्रारम्भिक मूल्य निर्धारणको आधारसमेत फरक हुनुपर्ने ध्यानाकर्षण गराएको स्मरण गरेको छ।
अन्ततः सोको सुनुवाइ नभएपछि कम्पनी सेयर सूचीकरण गर्न बाध्य भएको बताइएको छ। यद्यपि कारोबारको सुरु मूल्य जतिसुकै निर्धारण गरिए पनि लगानीकर्तालाई कम्पनीको वास्तविक वित्तीय स्थितितर्फ ध्यानाकर्षण गराउनुपरेको रिलायन्सको भनाइ छ।
कम्पनीको प्रतिसेयर मूल्य ११२ काल्पनिक आधारमा नभई विज्ञ वित्तीय संस्थाहरूले कम्पनीको वित्तीय प्रक्षेपण तथा सम्भाव्यतासमेतलाई लक्षित गरी तोकेको वास्तविक मूल्य रहेको रिलायन्सको धारणा छ। नेप्सेले नै योग्य संस्थागत लगानीकर्ताबीच सिलबन्दी बोलपत्रमार्फत ६०८ देखि ९१२ रुपैयाँसम्मको सेयर खरिद मूल्य सीमा कायम गरेको उसले गराएको छ।
संस्थागत लगानीकर्ताद्वारा तय भएको मूल्यमा बुक बिल्डिङ निर्देशिकाबमोजिम १० प्रतिशत घटाएर आमसर्वसाधारण लगानीकर्ताका लागि ८२०१८० रुपैयाँ कायम भएको कम्पनीले जनाएको छ।
कम्पनीको वर्तमान वित्तीय स्थितिसमेतले ९१२ रुपैयाँलाई समर्थन गर्ने दाबी कम्पनीको छ। कम्पनीको २०८२/८३ को दोस्रो त्रैमासिक (अपरिष्कृत) वित्तीय विवरणअनुसार प्रतिसेयर नेटवर्थ ४९०५४ रहेको छ । तसर्थ, वित्तीय अवस्था र सम्भाव्यताको उचित विचार गरी निर्णय गर्न कम्पनीले लगानीकर्तालाई आग्रह गरेको छ।