काठमाडौं। सम्पत्ति शुद्धीकरण गरेकाे गम्भीर अभियोगमा प्रहरीले चर्चित व्यवसायी दीपक भट्टलाई बिहीबार नक्सालस्थित उनकै कार्यालयबाट पक्राउ गरेको छ। केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) का एआइजी मनोज केसीले पक्राउको पुष्टि गर्दै यो कदम सम्पत्ति शुद्धीकरण विभागको औपचारिक पत्राचारपश्चात् चालिएको बताए।
पक्राउभन्दा केही दिनअघि मात्रै विभागले चैत १५ को मितिमा अध्यागमन विभागलाई पत्र पठाएर भट्टको पासपोर्ट रोक्का गर्न निर्देशन दिइसकेको थियो। पासपोर्ट रोक्कापछि तत्काल गरिएको यो पक्राउले अनुसन्धान आफ्नो निर्णायक चरणमा पुगिसकेको स्पष्ट पारेको छ।
अहिलेसम्मको अनुसन्धानमा हिमालयन रिइन्स्याेरेन्स, नेपाल रिइन्स्याेरेन्सको हकप्रद सेयर र हिल्टन होटलसँग जोडिएको गरी कुल ६ अर्ब रूपैयाँ बराबरको कारोबारमा भट्टको प्रत्यक्ष संलग्नता देखिएको विभागीय स्रोतले जानकारी दिएको छ। यसमध्ये एक्लै ५ अर्ब रूपैयाँ एउटै पुनर्बीमा कम्पनीसँग जोडिएको उक्त स्रोतको भनाइ छ। यसबाहेक सुरक्षा निकायसँग जोडिएका ठेक्कापट्टा र शेयर बजारका थप संदिग्ध कारोबारमाथिको अनुसन्धान अझै जारी रहेको बताइएको छ।
यस प्रकरणको जरो भने वर्षौं पहिले नै गाडिएको थियो। २०७८ सालमा जगदम्बा स्टिलको बैंक खाताबाट दीपक भट्टको खातामा संदिग्ध रकम स्थानान्तरण भएको राष्ट्र बैंकको वित्तीय सूचना इकाईले थाहा पाएपछि अनुसन्धानका लागि सम्पत्ति शुद्धीकरण विभागलाई पत्राचार भएको थियो। तर त्यस बेला गम्भीर छानबिन हुन सकेन। २०८१ को अन्त्यतिर विभागले आन्तरिक राजस्व विभागमार्फत जगदम्बा स्टिल, हिमालयन रि, इन्फिनिटी होल्डिङ, आयुष्मा नेपाल र अञ्जना नेपालबीचको कारोबार सम्बन्धको विवरण खोज्ने प्रयास गरे पनि २०८२ वैशाखमा अनुसन्धान पुनः राष्ट्र बैंकतिर फर्काइदिइयो र फाइल फेरि थन्किन पुग्यो।
टुंगो नलागेको यो फाइलमा नयाँ जीवन भर्न पूर्वप्रधानमन्त्री सुशीला कार्की नेतृत्वको अन्तरिम सरकारका अर्थमन्त्री रामेश्वर खनालको भूमिका निर्णायक रह्यो। खनालले असोजदेखि नै यस अनुसन्धानमा व्यक्तिगत चासो राख्दै अघि बढाउन निर्देशन दिए। उनकै पहलमा सम्पत्ति शुद्धीकरण विभागलाई प्रधानमन्त्री कार्यालयको मातहतबाट अर्थ मन्त्रालयअन्तर्गत ल्याइयो र विभागको महानिर्देशक पनि परिवर्तन गरिएपछि पुराना फाइलहरूमा पुनः अनुसन्धान सुरू भयो। त्यसयता भट्ट र उनीसँग जोडिएका २६ जना व्यापारी तथा उच्च पदाधिकारीहरूबाट कात्तिकदेखि बयान लिने क्रम चलेको थियो, जुन चैतको दोस्रो साता आएर सम्पन्न भएको विभागीय स्रोतले बताएको छ।
विभागीय स्रोतका अनुसार केही सातामै मुद्दा अदालतमा दायर गर्ने तयारी भइरहेको छ। यो मुद्दाले नेपालको बीमा, होटल र धितोपत्र क्षेत्रमा बलियो राजनीतिक-व्यापारिक सम्बन्धको जुन जालो रहेको आरोप छ, त्यसलाई न्यायिक परीक्षणको घेरामा ल्याउने भएकाले आगामी दिनमा यो प्रकरण झन् चर्चाको केन्द्रमा रहने निश्चित देखिन्छ।