गुल्मी। नेपाल विद्युत् प्राधिकरणद्वारा गुल्मी सदरमुकाम तम्घासबाट बुर्तिबाङसम्म निर्माण सम्पन्न भएको १३२ केभी डबल सर्किट प्रसारणलाइनको आजदेखि परीक्षण सुरु गरिएको छ। बुर्तिबाङ-पौदीअमराई‐तम्घास‐सन्धिखर्क‐गोरुसिङ्गे १३२ केभी प्रसारणलाइन आयोजना’अन्तर्गत निर्माण गरिएको उक्त लाइन गुल्मी र बागलुङ जिल्लाका विभिन्न स्थानीय तह हुँदै विस्तार गरिएको हो।
गुल्मीको रेसुङ्गा नगरपालिकाअन्तर्गत वडा नं ७ को उनाएचौरस्थित तम्घास सवस्टेसनबाट बागलुङको ढोरपाटन नगरपालिका २ खल्टुबोटस्थित बुर्तिबाङ सबस्टेसनसम्मको प्रसारण लाइनमा १३२ हजार भोल्ट क्षमताको विद्युत् परीक्षण र विद्युत् प्रवाह गरिने प्राधिकरणले जनाएको छ।
उक्त प्रसारणलाइन आजदेखि दुई दिनसम्म परीक्षण गरेपछि मात्र नियमित सञ्चालन गरिने तयारी गरिएको विद्युत् प्राधिकरणका आयोजना प्रमुख मनोज चौधरीले जानकारी दिए। प्राधिकरणद्वारा गुल्मीको रेसुङ्गा नगरपालिका ३, ४ र ५, इस्मा गाउँपालिका २ तथा मुसिकोट नगरपालिका १, २ र ३ हुँदै बागलुङको बडिगाड गाउँपालिका २, ५, ६ र ७ र ढोरपाटन नगरपालिका २ बुर्तिबाङसम्म विस्तार गरिएको उनले बताए।
प्राधिकरणले उच्च भोल्टेजका कारण हुन सक्ने जोखिमलाई ध्यानमा राख्दै सर्वसाधारणलाई प्रसारणलाइनको टावरमा नचढ्न, तार वा संरचनालाई नछुन, टावर वरिपरी नजान तथा घरेलु जनावर बाहिर नछाड्न आग्रह गरेको छ।
खतराको सङ्केत गरिएका संरचनाबाट टाढा रहन र बालबालिकालाई सचेत गराउन अनुरोध गरिएको छ। परीक्षणका क्रममा झिल्का (स्पार्क) देखिएमा वा अन्य जोखिम महसुस भएमा नजिकको प्रहरी चौकी वा प्राधिकरणको कार्यालयमा जानकारी गराउनसमेत आग्रह गरिएको छ।
प्राधिकरणका अनुसार यस आयोजनाको निर्माण चार अर्ब ५० करोड रुपैयाँभन्दा बढी लागतमा सम्पन्न भएको आयोजना प्रमुख चौधरीले जानकारी दिए। आयोजना सञ्चालनमा आएपछि गुल्मी र बागलुङ जिल्लामा विद्युत् आपूर्ति थप विश्वसनीय र सुदृढ हुने अपेक्षा गरिएको उनले बताए।
कपिलवस्तुको मोतिपुर सबस्टेसनबाट अर्घाखाँची हुँदै गुल्मीको उनाएचौर र मुसिकोटको पौदीअमराई भएर बुर्तिबाङसम्म विद्युत् प्रवाह हुने व्यवस्था मिलाइएको चौधरीले बताए।
यसअघि बुटवलमा रहेको सबस्टेसनबाट लामो दूरीमा जिल्लामा विद्युत् आपूर्ति हुँदा पटक-पटक सेवा अवरुद्ध हुने गरेको थियो। नयाँ प्रसारणलाइन र सवस्टेसन सञ्चालनमा आएसँगै ती समस्या समाधान भई जिल्लामा सहज र दीर्घकालीन रूपमा विद्युत् सेवा नियमित हुने विश्वास गरिएको छ।