गण्डकी। उद्योगपति एवं लेखनाथ उद्योग वाणिज्य संघका संस्थापक अध्यक्ष चन्द्रकृष्ण कर्माचार्यले आफ्ना जीवनका भोगाइ र अनुुभव समेटिएको ‘संसार आफ्नै’ एउटा उद्यमीले बाँचेको समय पुुस्तक बजारमा आएको छ।
कर्माचार्यले शिक्षकका रुपमा प्राप्त ज्ञान, आफ्नो व्यावसायिक अनुुभवसँगै पोखराको व्यावसायिक परिवर्तनलगायतका विविध विषयलाई पुस्तकमा समेटेकाे छ। कोसेली प्रकाशन पोखराद्वारा प्रकाशित पुस्तकमा कर्माचार्यले आफू र आफ्नो परिवारको मात्र नभएर समस्त कर्माचार्य बन्धुको बसोबास नेपालका कुनकुन जिल्लामा छ, त्यसबारे पनि जानकारी दिने प्रयास गरेका छन्।
हिजो र आज कर्माचार्य बन्धुहरूको पेसा व्यवसाय र बसोबासमा आएको भिन्नतालाई पुस्तकमा देखाउन खोजिएको छ। कर्माचार्य आफूले सेवा गर्ने अवसर पाएका संस्थाका विगतका स्मरणलाई पुस्तकमा उल्लेख गरेका छन्। श्रीमती लक्ष्मीसुन्दरीको मिर्गाैला रोगबाट भएको निधनले पारिवारिक जीवनमा पारेका प्रभाव प्रभावलाई कमार्चाले उक्त पुस्तकमा उल्लेख गरेको छ।
मिर्गाैला रोग लागेपछि आर्थिक भारले उपचार गर्न नसकिने गम्भीर अवस्थालाई दृष्टिगत गर्दै मिर्गाैला पीडितका लागि सहयोगार्थ राखिएको ३० लाखको लक्ष्मीसुन्दरी कर्माचार्य मिर्गाैला पीडित सहयोग अक्षयकोषमार्फत त्यसको ब्याजमध्येबाट वार्षिक एकजना मिर्गाैला पीडितलाई एक लाख सहयोग गर्दै आइएको पुस्तकमा उल्लेख छ।
यस्तै लेखनाथ उद्योग वाणिज्य संघमार्फत सञ्चालित रु एक लाख एक हजारको ‘चन्द्रलक्ष्मी कर्माचार्य ज्येष्ठ नागरिक सेवा पुरस्कार पनि त्यसैबाट उपलब्ध गराउँदै आइएको पुस्तकमा भनिएको छ। पोखराका विभिन्न संस्थामा नेतृत्वदायी भूमिका निर्वाह गरेका कर्माचार्यले लेखनाथ उद्योग वाणिज्यको संघको स्थापना, संघको भवन निर्माण, संघले गर्दै आएको लेखनाथ महोत्सव, लेखनाथ साना सहरी खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाको स्थापना, पृथ्वी राजमार्गमा बस सञ्चालन आदिबारे पनि चर्चा गरिएको छ।
नेवारी समुदायले योमरी पुन्हीका दिन खाने परिकारलाई अन्तरराष्ट्रिय ब्रान्ड बन्न सक्ने परिकारका रुपमा प्रस्तुत गर्दै कर्माचार्यले त्यसको महत्त्व एवं सांस्कृतिक पक्षबारे चर्चा गरेका छन्। आफ्नो व्यावसायिक यात्राका विविधपक्षबारे चर्चा गर्दै पुस्तकमा कमाचार्य ग्रुपको स्थापनासँगै त्यसयता आफूहरूले सञ्चालनमा ल्याइएका गरिएका कर्माचार्य नुडल्स इन्डस्ट्री, कर्माचार्य आयल इन्डस्ट्री, एभरेष्ट रबर उद्योग, कर्माचार्य प्लास्टिक उद्योग, गण्डकी प्लास्टिक प्रोडक्ट्स, छाँगो प्लास्टिक इन्डस्ट्रिज, गण्डकी आयल मिल, कर्माचार्य फुडग्रेन्स कम्पनी, कर्माचार्य बेक्स एन्ड फुड्क इन्डष्ट्रिज, फिस्टेल डेरी उद्योग, कन्ट्री फुड्स, कन्ट्री कन्फेक्सनरी आदिका कथाव्यथाबारे चर्चा गरिएको छ।
पुस्तकका सम्बन्धमा चर्चा गर्दै नेपाल उद्योग वाणिज्य महासंघका पूर्वकेन्द्रीय अध्यक्ष आनन्दराज मुल्मीले पुस्तकमार्फत कर्माचार्यले आफ्ना भावना, अनुुभव, यथार्थ अनुुभूतिसँगै भोगेका सुख दुःखका कुरालाई अभिव्यक्त गरेको बताए।
‘एउटा शिक्षककमा रुपमा प्राप्त ज्ञान, उद्यमीका रुपमा गर्नुुपरेको संघर्ष र पाएको सफलता, समाजसेवी बन्दा र विभिन्न संघसंस्थामा आवद्ध हुँदाको कथा अनि एउटा पतिका रुपमा, अभिभावकका रुपमा आफ्ना परिवारजनप्रतिको आत्मियताबारे सविस्तार उल्लेख हुनु यस पुस्तकको रोचक पक्ष हुन गएको छ’, मुल्मीले भने, ‘यसमा आफ्ना कमाचार्य पूर्वज÷वंशको जरा खोज्न देखाएको जिज्ञासा अझै महत्त्वपूर्ण छ।’
जीवनमा अनुशासन र मिहिनेतको आवश्यकता, आउने उतारचढाव र चुनौतीलाई सहज बनाउन चाहिने लगनशीलता र क्रियाशीलताको कति धेरै महत्त्व छ भन्ने कुरा पुस्तकमा प्रतिविम्बित भएको मुल्मीले बताए। २१० पृष्ठको पुस्तकको शनिबार पोखरा महानगरका प्रमुख धनराज आचार्यले लोकार्पण गरेका थिए।
महानगरप्रमुख आचार्य, पुस्तकका समीक्षक एवं लेखनाथ उद्योग वाणिज्य संघका पूर्वअध्यक्ष चतुुराखर अधिकारीलगायतले एउटा उद्यमीको जीवनका भोगाइ र अनुुभव समेटिएको पुस्तक अरुका लागि पनि प्रेरक बन्ने विश्वास व्यक्त गरे।