चितवन। पृथ्वी राजमार्गको नागढुंगा–मलेखु सडक स्तरोन्नति गरी कालोपत्र गर्ने काम तीव्र बनाइएको छ। हालसम्म ११ किलोमिटर कालोपत्रे गरिएको छ। गत वर्ष आठ किलोमिटर कालोपत्र गरिएकामा यस वर्ष थप तीन किलोमिटर कालोपत्रे गरिएको हो।
थप ठाउँमा कालोपत्रेका लागि तीव्र गतिमा काम भइरहेको छ। २०७९ पुस १५ गते तीन वर्षमा सम्पन्न गर्ने गरी यो सडक ठेक्का लगाइएको थियो। समयमा काम नसकिएपछि ६ महिना म्याद थप गरिएको छ। पृथ्वी राजमार्गअन्तर्गत मुग्लिन–नागढुंगा खण्डलाई तीन चरण बनाएर बोलपत्र आह्वान गरिएको हो। यो तेस्रो चरणअन्तर्गत पर्दछ। पुस १५ मा म्याद सकिएपछि ६ महिनाका लागि म्याद थप गरिएको छ।
नागढुंगा–मुग्लिन सडक आयोजनाअन्तर्गत पश्चिम खण्ड मुग्लिन–मलेखु सडकका इञ्जिनियर विजय दरैका अनुसार हालसम्म ४० प्रतिशत प्रगति भएको छ। सो सडकको कुरिनटार, फिस्लिङ, चरौदी र विशालटारका केही क्षेत्र कालोपत्रे गरिसकिएको छ। धादिङको बाँदरेमा कालोपत्रे भइरहेको छ। फिस्लिङ र जवाङ खोला क्षेत्रमा बेस र सबबेस राखेर कालोपत्रेको अन्तिम तयारी गरिएको उनले जानकारी दिए।
उनले भने, ‘हामीले अहिले कालोपत्रेका लागि तीव्र तयारीमा काम गरिरहेका छौँ।’ अबको मौसम कालोपत्रेका लागि उपयुक्त हुने भएकाले तयारी तीव्र गतिमा भएको हो। झन्डै २०० मजदुर, कर्मचारी, प्राविधिक कालोपत्रको काम जुटिरहेको उनले बताए। यसैगरी ६ वटा पुलमध्ये हुग्दी र चरौदीको पुलको फाउण्डेसनपछिको काम अहिले भइरहेको छ। यस्तै कृष्णभिरको पहिरो रोकथामको काम पनि भइरहेको उनले जानकारी दिए।
कालोपत्रेका लागि सामग्री अभाव हुने अवस्थामा पुगेको छ । अहिले धादिङको चरौदी र बेनिघाट एवं इच्छाकामनाबाट सामग्री लगिएको भए पनि लामो समयका लागि काम गर्न सामग्री अभाव हुने देखिएको उनको भनाइ छ। सामग्री पाए अब काम नरोकिने दराई बताउँछन्।
यस्तै नाली, बेरियरलगायतका सडकका विभिन्न क्षेत्रका काम भइरहेका छन्। सो खण्डमा ३८ दशमलव ८६ किलोमिटर सडक पर्दछ। यस खण्डमा दुई दशमलव दुई किमि ६ लेनको बन्नेछ, जुन मलेखु, बेनीघाट र मुग्लिन खण्डमा पर्दछ। सात दशमलव दुई किमि सडक चार लेन हुनेछ।
चार लेन रमाइलोडाँडा, कुरिनटार, फिस्लिङ, चुम्लिङ, मझिमटार, चरौँदी र विशालटार क्षेत्रमा पर्ने जनाउँदै दरैले उकालो–ओरालो खण्डमा तीन लेनको ‘क्लाइम्बिङ’ मार्ग बनाइने बताए। उनका अनुसार ‘क्लाइम्बिङ’ मार्ग दुई दशमलव तीन किमिको हुनेछ भने बाँकी सडक दुई लेनको हुनेछ। शर्मा–जेडआइसीजीले चार अर्ब ८० करोड ५९ लाखमा यस खण्ड स्तरोन्नतिको ठेक्का लिएको हो।
सडकका विभिन्न क्षेत्रमा कालोपत्रसेँगै नाला बनाउने, पहिरो रोकथामका लागि संरचना निर्माण, भित्तो काट्ने, पर्खाल लगाउने, सडक सुरक्षालगायत काम बाँकी छन्। यो सडक विश्व बैंकको सहयोगमा बनाउन लागिएको हो। काठमाडौँ प्रवेश गर्ने र बाहिरिने मुख्य नाकाका रूपमा यो खण्ड रहेको छ।–रासस