पर्वत। पर्वत जिल्लामा पछिल्लो आठ वर्षका अवधिमा २१ मोटरवेल पुल निर्माण सम्पन्न भएको छ। जिल्लाका विभिन्न स्थानमा ती मोटरबेल पुल बनेका हुन्।
सडक सञ्जालले जिल्लाका ६१ वटै वडा, टोल तथा बस्तीसम्म पनि पहँुच पुगेको पर्वतमा ग्रामीण सडकलाई बाह्रैमास सञ्चालन गर्न पुल निर्माण भएका हुन्। जिल्लामा २१० किलोमिटर ग्रामीण सडक कालोपत्रे भएको जिल्लामा मध्यपहाडी लोकमार्गमा दुई, कालीगण्डकी करिडोरमा तीन गरी ग्रामीण सडकसहित कूल २१ मोटरवेल पुलको निर्माण भएका छन् ।
संसदीय निर्वाचनसँगै प्रदेश तथा स्थानीय तहको निर्वाचनको यो अवधिमा विकासमा समीक्षामा भौतिक पूर्वाधारतर्फ पर्वतमा उल्लेखनीय प्रगति भएको देखिन्छ । मुख्य गरी कालीगण्डकी नदी र मोदीखोला पर्वत जिल्लाका दुई ठूला नदी रहेका छन्। ती नदीमा लामा पुल निर्माण भएका छन् भने ग्रामीण क्षेत्रमा रहेका साना खोलामा छोटा पुलको निर्माण भएका छन्। निर्माण सम्पन्न भएका पुलमा सडक सञ्चालन नियमित रुपमा भइरहेको छ।
ती पुलमा मोदीवेणीस्थित मोदी खोला, भूकताङलेको झिलिबराङमा भुरुङदीखोला, तिलाहारको रतीखोला, दुर्लुङ र बाजुङ जोड्ने आम्बोटखोला, जहरे–दोविल्ला, पकुवाआर्थर जोड्ने जहरेखोला गंगटे पुल छन्।
यसैगरी नयाँ पुल सेराबेँसी, दक्षिण पर्वतको पैँयू गाउँपालिकामा पर्ने मर्दीखोला, सेतीखोला, रिठेखोला, गेडीखोला, फलेवास नगरापलिकाको चिर्दीखोला मोटरबेल पुल रहेका छन्। यसैगरी यही अवधिमा बनेको सिब्दीखोला, पैंयू ६ सरौखोलास्थित छत्तिसेघाट, फलेवास–जैमिनिघाट, कालीगण्डकी, देविस्थान–कुर्घा जोड्ने लमायखोला, महाशिला वडा–१ र पैयूँ–६ जोड्ने अगुवाखोला, रानीपानी–इमिचौरदेखि गुल्मीपूर्तिघाट जोड्ने कालीगण्डकीे, मोदी १ स्थित भुकदेखि कास्की अन्नपूर्ण गाउँपालिका जोड्ने भुरुङदीखोला पुल, मध्यपहाडी राजमार्गअन्तरगत तमादीखोला र बगरफाँट–बेनी जोड्ने कालीगण्डकी नदीमा ट्रस्ट ब्रिजनिर्माण सम्पन्न भएको पूर्वाधार विकास कार्यालयले जनाएको छ।
जिल्लामा अझै आधा दर्जन मोटरबेल पुलको माग भएको पूर्वाधार विकास कार्यालयले जनाएको छ। ती पुलको डिपीआर तयार भए पनि बजेटको भने सुनिश्चित भइसकेको छैन। मोदीखोलामा गाडतारा–आम्बोट तथा झाप्रे बगरमा मोटरवेल पुलको सम्भाव्यता अध्ययन सकिएको छ भने कल्लेरीघाट तथा बगरफाँटमा गरी दुई स्थानमा कालीगण्डकी नदीमा मोटरबेल पुल निर्माण कार्यका लागि योजना सुनिश्चत हुन बाँकी छ।
कतिपय पुल संघीय सरकारको भौतिक पूर्वाधार मन्त्रालय र कतिपय गण्डकी प्रदेश सरकारमार्फत पूर्वाधार विकास कार्यालयले निर्माण गरेको हो। यी बाहेक मल्याङ्दीखोला र पराधिस्थित मोदीखोलामा दुई पुल निर्माणाधीन अवस्थामा रहेको पूर्वाधार विकास कार्यालयका प्रमुख सन्तोष अर्यालले बताए।–रासस