नवलपरासी। नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवम् नवलपरासी क्षेत्र नम्बर १ का उम्मेदवार विनोद चौधरीले जनताले नयाँ दलले गरेका कामको हिसाब किताब माग्नुपर्ने बेला आएको बताएका छन्। आफूले आजसम्म यो क्षेत्रमा गरेका कामको 'रिपोर्ट कार्ड' जनतासामु प्रस्तुत गरेको बताउँदै उनले नयाँ भनिएका दलहरुको पनि कामको हिसाब मागेर प्रश्न गर्नुपर्ने बताए।
प्रतापपुर गाउपालिका ९ मा नेपाली कांग्रेसद्वारा आयोजित समारोहमा बोल्दै उनले परिवर्तन आफैँबाट सुरुवात गर्नुपर्छ भन्ने उद्देश्यअनुरुप आफ्ना एजेन्डासहित कांग्रेस बदलिएर आएको उनले जिकीर थियो।
'हामी आफूले गरेका कामको हिसाब सार्वजनिक गरेका छौँ, तपाईंहरुले पनि नयाँ दललाई प्रश्न गर्नुस्, टाउको कहाँ छ? पुछर कहाँ छ,' उनले भने। अरुलाई बदल्नुभन्दा पहिला आफू बलदिलिनुपर्ने उनको तर्क थियो।
कार्यक्रममा बोल्दै उनले खजुरा खोला किनारमा निर्माण भएको उद्योग ग्राम सञ्चालनका लागि उद्योगहरु स्थापनाको वातावरण तयार गर्नका लागि केही दिनभित्रै उद्योगीसँग छलफलको तयारी भइरहेको जानकारी दिए।
केही दिनमै सहिद स्मृति अस्पताल चौपत्तामा डायलासिस सेवा सुरु हुने हुँदा मृगौला पीडित नागरिक अब टाढा धाउनुपर्ने बाध्यताको अन्त्य हुने उनले विश्वास व्यक्त गरे।
फरक प्रसङ्गमा बोल्दै चौधरीले आफू विगतदेखि थारु समुदायसँग नजिक रहेर काम गरेको उल्लेख गर्दै थारु समुदायको इमान्दारिता र उनीका समस्यालाई आफूले नजिकबाट बुझेको बताए। 'म थारु समुदायको इमान्दारितालाई राम्रोसँग बुझ्छु, मेरा उद्योगमा काम गर्ने कयौँ मजदुरहरु थारु समुदायका छन्। त्यसैले पनि मैले उनीहरुलाई नजिकबाट बुझेको छु,' उनले भने।
विकास गतिलाई निरन्तरता दिनका र परिवर्तनका लागि स्थायी सरकारको आवश्यकता पर्ने हुँदा अबको निर्वाचनमा कांग्रेसलाई अत्याधिक मतले विजयी गराउँदै गगन थापाको नेतृत्वको सरकार अपरिहार्य रहेको उनको भनाइ थियो।