काठमाडौं । बंगलादेशमा भएको निर्वाचनमा विद्यार्थी आन्दोलनबाट जन्मिएको नेशनल सिटिजन पार्टी (एनसीपी) ले निराशाजनक नतिजा हासिल गरेको छ। जारी मत गणनाअनुसार यो पार्टीले मात्र चार देखि पाँच सिट जित्न सफल भएको छ।
अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूले फरक फरक आँकडा प्रस्तुत गरेका छन्। ढाका ट्रिब्युनले एनसीपीले चार सिट जितेको र एक सिटमा अग्रता लिएको जनाएको छ भने सीएनएन र रोयटर्सले पाँच सिट जितेको उल्लेख गरेका छन्। सीएनएनका अनुसार यो पार्टीले तीस निर्वाचन क्षेत्रमा आफ्ना उम्मेदवार खडा गरेको थियो।
अपेक्षित नतिजा हासिल नगरेपछि एनसीपीले मतगणना प्रक्रियामा अनियमितता भएको आरोप लगाएको छ। बीबीसीले पार्टीले पुनः मतगणनाको माग गरेको समाचार प्रकाशित गरेको छ। विद्यार्थी आन्दोलनका क्रममा चर्चित अनुहार बनेका नाहिद इस्लामको नेतृत्वमा रहेको यो पार्टीले आफूलाई भ्रष्टाचार र तानाशाहीविरुद्धको नयाँ विकल्पको रूपमा प्रस्तुत गर्दै आएको थियो।
एनसीपीले युवाहरूका लागि रोजगार सृजना, हिंसाका पीडितलाई न्याय र संस्थागत सुधार जस्ता मुद्दाहरू उठाउँदै चुनावी अभियान चलाएको थियो। यो पार्टी सन् २०२४ मा भएको विद्यार्थी आन्दोलनपछि गठन भएको थियो, जसले तत्कालीन प्रधानमन्त्री शेख हसिनालाई सत्ताच्युत गरेको थियो।
सन् २०२४ को जुलाईमा सुरु भएको विद्यार्थी आन्दोलन सुरुमा सरकारी जागिरमा व्यवस्था गरिएको आरक्षणविरुद्ध केन्द्रित थियो। तर पछि यो आन्दोलन भ्रष्टाचार र सुशासनको माग गर्दै व्यापक विद्रोहमा परिणत भयो। शेख हसिना नेतृत्वको सरकारले आन्दोलनकारीहरूविरुद्ध कडा कारबाही गर्दै सेनालाई सडकमा उतारेको थियो। संयुक्त राष्ट्रसंघका अनुसार सो आन्दोलनमा झण्डै चौध सय मानिस मारिएका थिए, जसमध्ये अधिकांश विद्यार्थी र युवा थिए।
आन्दोलन तीव्र हुँदै गएपछि शेख हसिना देश छाडेर भारत भागेकी थिइन्। उनको पलायनपछि नोबेल शान्ति पुरस्कार विजेता मोहम्मद युनुसको नेतृत्वमा अन्तरिम सरकार गठन भएको थियो। सोही अन्तरिम सरकारले बिहीबार यो निर्वाचन गराएको हो। शेख हसिनाको पार्टीमाथि प्रतिबन्ध लगाइएकाले निर्वाचनमा सहभागी हुन पाएको थिएन।
निर्वाचनमा पूर्वप्रधानमन्त्री बेगम खालिदा जियाका छोरा तारिक रहमानको नेतृत्वमा रहेको बीएनपी पार्टीले बहुमत हासिल गरेको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूले जनाएका छन्। सबैभन्दा धेरै सिट जितेको बीएनपीका अध्यक्ष तारिक रहमान प्रधानमन्त्री बन्ने निश्चित भएको छ। यो पार्टी करिब दुई दशकसम्म सत्ताबाहिर रहेको थियो।
हाल भारतमा निर्वासित जीवन बिताइरहेकी पूर्वप्रधानमन्त्री शेख हसिनाले यो चुनावलाई पूर्णरूपमा फर्जी र असंवैधानिक भनेकी छन्। उनको आरोप छ कि अन्तरिम सरकार प्रमुख मोहम्मद युनुसले गैरकानुनी र असंवैधानिक ढंगले सत्ता कब्जा गरेर त्यसै आधारमा चुनाव गराएका हुन्।