काठमाडौं। नेपाल विद्युत् प्राधिकरणले आज काठमाडौंका विभिन्न स्थानमा बिजुली कटौती गर्ने भएको छ। प्राधिकरणले सूचना प्रकाशित गरी बानेश्वर वितरण केन्द्रको कार्यक्षेत्रभित्र पर्ने सिनामंगल चोक तथा तिलगंगा क्षेत्रमा बिजुली कटौती हुने जनाएको छ।
तिलगंगा आँखा अस्पताल अगाडि रहेको पोल ढल्केकाले त्यसलाई व्यवस्थित गर्न ११ केभी क्षमताको प्रसारण लाइन सटडाउन गर्न लागेको प्राधिकरणले बताएको छ।
प्राधिकरणले तिलगंगा, प्रकाश सन्यास आश्रम, शम्भुमार्ग, गौशाला र विमानस्थल आसपासका क्षेत्रमा बिहान ११ बजेदेखि १२ः३० सम्म बिजुली कटौती गर्ने भएको छ। यस्तै, तिनकुने, गैरीगाँउ, सिनामंगल र विमानस्थल क्षेत्रअन्तर्गतका सबै क्षेत्रमा १ बजेदेखि १४ः३० बजेसम्म बिजुली कटौती हुनेछ।
यसैगरी महाराजगञ्ज वितरण केन्द्रअन्तर्गतका विभिन्न स्थानमा विजुली कटौती हुने भएको छ। काठमाडौँ उपत्यकाका मध्य तथा उत्तर वितरण प्रणाली सुदृढीकरण आयोजनाले वितरण प्रणाली भूमिगतकार्य भइरहेको र सो कार्य सम्पन्न गर्न आज बिहान १० बजेदेखि २ बजेसम्म बिजुली कटौती हुनेछ।
प्राधिकरणका अनुसार, बालुवाटार, शिवपुरी स्कुल, पाण्डोल मार्ग, प्रधानमन्त्री निवास आसपासका क्षेत्रमा बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म बिजुली कटौती हुनेछ।
यस्तै, हेपाली हाइट, च्यासिङडोल, देउराली जनता, भगवती मन्दिर, धापासीलगायतका क्षेत्रमा पनि बिजुली कटौती हुनेछ।
वंशीधर मार्ग, चन्डोल, विशालनगर, सेन्ट्रल अर्पाटमेन्ट र टुँडालदेवी मन्दिरलगायतका क्षेत्रमा पनि १२ बजेदेखि २ बजेसम्म बिजुली कटौती हुने प्राधिकरणले जनाएको छ।