काठमाडौं। नेपाल प्रहरीले अपराध अनुसन्धान र शान्ति–सुरक्षालाई प्रविधिमैत्री बनाउने उद्देश्यले नक्सालस्थित प्रधान कार्यालयमा उच्च प्रविधियुक्त आर्टिफिसियल इन्टेलिजेन्स एन्ड एडभान्स्ड एनालिटिक्स सेल सञ्चालनमा ल्याएको छ। गृहमन्त्री ओमप्रकाश अर्यालले नयाँ सेलको औपचारिक सुरुआत गरेका हुन्।
गृहमन्त्री अर्यालले सेलको कार्यप्रणाली, यसले गर्ने काम र सुरक्षा व्यवस्थापनमा उपयोगिताबारे विस्तृत जानकारी लिएका थिए।
बढ्दो साइबर अपराध, संगठित आपराधिक सञ्जाल, वित्तीय ठगी र सामाजिक अस्थिरता फैलाउने डिजिटल अभियान सुरक्षा निकायका लागि ठूलो चुनौती बन्दै गएको छ। परम्परागत अनुसन्धान प्रणाली मात्र पर्याप्त नहुने भएपछि प्रहरीले जेनेरेटिभ एआई, मेसिन लर्निङ र अटोमेसनजस्ता अत्याधुनिक प्रविधि प्रयोग गर्न सेल स्थापना गरेको हो।
यसले सूचनाको विश्लेषण गर्ने मात्र नभई अपराध हुनुपूर्व नै सतर्क गराउने प्रणालीको विकास गर्ने लक्ष्य राखेको छ। कृत्रिम बुद्धिमत्ताको संस्थागत प्रयोग मार्फत डिजिटल प्रमाण संकलनलाई थप मजबुत बनाउनु यसको मुख्य उद्देश्य रहेको छ।
प्रहरीले सामाजिक सञ्जालमार्फत गलत र मिथ्या सूचना फैलाउने पाँचवटा घटनामा संलग्न व्यक्तिलाई बाँके, कञ्चनपुर, सुनसरी, सल्यान र दाङबाट नियन्त्रणमा लिएर कानुनी कारबाही अगाडि बढाइसकेको छ। यसले प्रविधि प्रयोगबाट अपराधीलाई छिटो र प्रभावकारी रूपमा पहिचान गर्न सकिने पुष्टि गरेको छ।
केन्द्रीय प्रहरी प्रवक्ता प्रहरी नायव महानिरीक्षक अबिनारायण काफ्लेले सामाजिक सञ्जाल प्रयोग गर्दा नागरिकलाई सचेत रहन आग्रह गरेका छन्।
कार्यक्रममा गृहसचिव राजकुमार श्रेष्ठ, प्रहरी महानिरीक्षक दानबहादुर कार्की र सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्याल लगायत सुरक्षा निकायका उच्च अधिकारीहरूको उपस्थिति थियो।