जेनजी आन्दोलनपछि विघटित प्रतिनिधिसभा निर्वाचनले राजनीतिक माहोल तातिएको छ। अहिले राजनीतिक माहोलसँगै निर्वाचनमा क-कसको हारजित हुन्छ भन्ने चासो धेरैलाई छ।
अझ यसपटकको निर्वाचन प्रमुख राजनीतिक दल नेपाली कांग्रेस, नेकपा एमाले, नेपाली कम्युनिस्ट पार्टी र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले प्रधानमन्त्रीको उम्मेदवारको नाम नै तोकेर निर्वाचनमा होमिएपछि झनै रोचक बनेको छ।
हुन त, प्रत्येक निर्वाचनमा रोचक प्रतिस्पर्धा हुने गर्छ। तर, यसपटक झापा निर्वाचन क्षेत्र ५ र सर्लाही निर्वाचन क्षेत्र ४ लाई इपिसेन्टरका रूपमा हेरिएको छ। झापा ५ मा पूर्वप्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओली र काठमाडौं महानगरका पूर्वमेयर एवं रास्वपाका वरिष्ठ नेता बालेन्द्र शाह(बालेन)बीच चुनावी प्रतिस्पर्धा हुँदै छ। ओलीलाई एमालेले र शाहलाई रास्वपाले प्रधानमन्त्रीको उम्मेदवारको रूपमा अगाडि सारेका छन्।
सर्लाही ४ मा कांग्रेस सभापति गगनकुमार थापा मैदानमा छन्। काठमाडौं ४ बाट लगातार निर्वाचित हुँदै आएका थापा सर्लाही झरेपछि त्यसलाई महत्त्वका साथ हेरिएको छ। थापालाई कांग्रेसले भावी प्रधानमन्त्रीको रूपमा अघि सारेको छ। थापासँगको प्रतिस्पर्धामा रास्वपाबाट अमरेशकुमार सिंह निर्वाचनमा होमिएका छन्। सिंह लामो समयदेखि सोही क्षेत्रबाट निर्वाचित हुँदै आएका छन्।
नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल प्रचण्ड निर्वाचन लड्न रुकुम पूर्व पुगेका छन्। २०७९ मा गोरखा २ बाट निर्वाचित प्रचण्ड अहिले रुकुम पूर्व पुगेका हुन्।
रास्वपा सभापति रवि लामिछाने चितवन २ बाट निर्वाचन लड्दै छन्। २०७९ मा रवि सोही क्षेत्रबाट निर्वाचित भएका थिए। नागरिकता प्रकरणमा सांसद पद गुमेर अदालतबाट सफाइ पाएपछि रविले फेरि सोही क्षेत्रबाट निर्वाचन जितेका थिए।
राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देन झापा ३ बाट उम्मेदवार बनेका छन्।
जसपा नेपालका अध्यक्ष उपेन्द्र यादव सप्तरी ३ बाट निर्वाचन लड्दै छन। जनमत पार्टीका अध्यक्ष डा.सीके राउत सप्तरी २ बाट उम्मेदवार बनेका छन्।
उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङ काठमाडौं क्षेत्र ३ बाट चुनाव लड्दैछन्। कुलमानसँग भिड्न रास्वपाले राजु पाण्डेलाई उम्मेदवारको रूपमा अघि सारेको छ। उज्यालो नेपाल पार्टीले कुलमानलाई निर्वाचनपछि प्रधानमन्त्रीको रूपमा अगाडि सारेकाले धेरैको चासो पनि ३ नम्बर क्षेत्रमा परेको छ।
प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा)का संरक्षक जनार्दन शर्मा आँखा चुनाव चिह्न लिएर रुकुम पश्चिममा उम्मेदवार बनेका छन्।
भावी प्रधानमन्त्रीको रूपमा अघि सारिएका धरान उपमहानगरका पूर्वमेयर हर्क साम्पाङ माटो चिह्न लिएर सुनसरी १ बाट निर्वाचनमा होमिएका छन्। मेयरमा स्वतन्त्र उम्मेदवारी दिएर जित हासिल गरेका साम्पाङ आफ्नै पूर्ववडाध्यक्षसँग प्रतिस्पर्धामा छन्। एमालेबाट पूर्ववडाध्यक्ष सूर्य भट्टराई उम्मेदवार बनेका छन्।
राष्ट्रिय आविष्कार केन्द्रका अध्यक्ष महावीर पुन म्याग्दीबाट उम्मेदवार बनेका छन्। सुशीला कार्की नेतत्वको चुनावी सरकारमा शिक्षामन्त्री बनेका पुनले प्रतिनिधिसभा निर्वाचनका लागि राजीनामा दिएर स्वतन्त्र उम्मेदवारी दिएका छन्। उनी त्रिभुज चिह्न लिएर चुनावी मैदानमा होमिएका हुन्।