सिमरा। इन्टरनेट सेवा प्रदायक वल्डलिंकको सामाजिक उत्तरदायित्वअन्तर्गत प्रदान गरिएको आर्थिक सहयोग तथा इन्जिनियरर्स विदाउट बोर्डसँगको कार्यान्वयन सहकार्यमा सिमराको नेपाल राष्ट्रिय माध्यमिक विद्यालयमा ‘आई जात्रा’ कार्यक्रम उत्साहपूर्वक सम्पन्न भएको छ।
‘आई जात्रा’ नवप्रयोगशाला परियोजनाअन्तर्गत विद्यार्थीहरूले सिकेको सीपलाई व्यवहारमा उतार्ने उद्देश्यले आयोजना गरिएको प्रदर्शनी तथा बिक्री मेला हो। कार्यक्रममा १५ भन्दा बढी स्टलमार्फत विद्यार्थीहरूले प्रविधि सामग्री, हस्तकला, खाद्य परिकार तथा खेलसम्बन्धी गतिविधिजस्ता सिर्जनात्मक उत्पादन र सेवा प्रस्तुत गरेका थिए।
करिब छ महिना अघि सञ्चालन गरिएको तालिमपछि विद्यार्थीहरूले निरन्तर अभ्यास, शिक्षकहरूको मार्गदर्शन र समूहगत कार्यमार्फत आफ्ना सीपलाई परिष्कृत गरेका थिए। सोही अभ्यासको परिणामस्वरूप ‘आई जात्रा’ आयोजना गरिएको विद्यालयले जनाएको छ।
विगत दुई वर्षदेखि वल्डलिंकको सामाजिक उत्तरदायित्व कार्यक्रमअन्तर्गत नवप्रयोगशाला परियोजना ललितपुर, दार्चुला, स्याङ्जा र सिमरामा सञ्चालन हुँदै आएको छ। यसअघि ललितपुर र दार्चुलामा ‘आई जात्रा’ सम्पन्न भइसकेको थियो भने सिमरामा यस पटक कार्यक्रम आयोजना गरिएको हो।
कार्यक्रममा बोल्दै कम्पनीकी सामाजिक उत्तरदायित्व निर्देशक अनुपा भण्डारी जालानले देशबाट दैनिक ठूलो संख्यामा युवाहरू वैदेशिक रोजगारीका लागि बाहिरिने अवस्थाप्रति चिन्ता व्यक्त गर्दै देशभित्रै सीप, नवप्रवर्तन र उद्यमशीलतामार्फत अवसर सिर्जना गर्नुपर्ने आवश्यकता औंल्याइन्। उनले विद्यार्थीलाई किताबीय ज्ञानमा मात्र सीमित नराखी व्यवहारिक सीपमा रूपान्तरण गर्नु समयको माग भएको बताइन्।
भण्डारी जालानले स्थानीय तह तथा सरोकारवाला निकायलाई विद्यार्थीका उत्पादनको प्रचार प्रसार, बजारीकरण र व्यवसायीकरणमा आवश्यक सहकार्य गर्न आग्रह गरिन्। यस्तो सहकार्यले विद्यालयस्तरबाटै उद्यमशील संस्कार विकास भई भविष्यमा रोजगारदाता उत्पादन गर्ने आधार तयार हुने विश्वास उनले व्यक्त गरिन्।
कार्यक्रममा सहभागी विद्यार्थीहरूले उत्पादन निर्माणदेखि बिक्रीसम्मको सम्पूर्ण प्रक्रिया प्रत्यक्ष अनुभव गरेका छन्। यसले उनीहरूमा उद्यमशील सोच, नेतृत्व क्षमता तथा टोलीमा काम गर्ने दक्षता अभिवृद्धि गरेको छ। आफ्नै उत्पादन प्रदर्शन तथा बिक्री गर्ने अवसरले आत्मविश्वास वृद्धि हुनुका साथै बजारको माग र उपभोक्ताको व्यवहारबारे व्यावहारिक ज्ञान प्राप्त भएको जनाइएको छ।
वल्डलिंकले ३१ वर्षदेखि देशभर इन्टरनेट सेवा विस्तार गर्दै आएको छ। पछिल्ला वर्षहरूमा कम्पनीले सामाजिक उत्तरदायित्वअन्तर्गत शिक्षा, स्वास्थ्य, वातावरण संरक्षण, मानसिक स्वास्थ्य सचेतना, दुर्गम क्षेत्रमा अनलाइन कक्षा सञ्चालन, सौर्य ऊर्जा जडान तथा सुरक्षित इन्टरनेट अभियानजस्ता कार्यक्रम सञ्चालन गर्दै आएको जनाएको छ।