काठमाडौं। राष्ट्रिय व्यवसायिक पहलको आयोजनामा काठमाडौंमा प्रतिनिधिसभा सदस्य निर्वाचन, २०८२ सम्बन्धी निर्वाचन पर्यवेक्षण अभिमुखिकरण कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको छ। यस कार्यक्रममा पहलद्वारा खटाइएका पर्यवेक्षकलाई मतदान प्रक्रिया, आचारसंहिता, प्रतिवेदन विधि लगायत विविध विषयमा अभिमुखीकरण प्रदान गरियो।
कार्यक्रममा निर्वाचन पर्यवेक्षण अभियानप्रति संस्थाको प्रतिबद्धता व्यक्त गर्दै अध्यक्ष कुशकुमार जोशीले स्वतन्त्र, निष्पक्ष र पारदर्शी निर्वाचनका लागि नागरिक समाजको भूमिका अपरिहार्य रहेको बताए। पहलका प्रतिनिधिले अभिमुखिकरण प्रस्तुतीकरणमा निर्वाचन प्रणाली, पर्यवेक्षणका चरणहरू, पर्यवेक्षकको योग्यता र दायित्व, मतदान दिनका अवलोकन बिन्दुहरू, गर्नुपर्ने र गर्न नहुने कार्यहरू, प्रतिवेदन पेश गर्ने प्रक्रिया तथा उल्लंघनका परिणामबारे विस्तृत जानकारी दिए।
विगत निर्वाचनका अनुभव र सिकाइका आधारमा पर्यवेक्षकहरूलाई व्यावहारिक मार्गनिर्देशन पनि प्रदान गरियो। प्रस्तुतिकरणपछिको छलफल सत्रमा निर्वाचन केन्द्रमा पहुँच, फोटोग्राफीसम्बन्धी नियम, अनियमितता देखिएको अवस्थामा अपनाउनुपर्ने प्रक्रिया लगायत विभिन्न विषयमा चर्चा गरियो।
पहलले विं.सं. २०७० को संविधान सभाको निर्वाचनदेखि निरन्तर रूपमा प्रतिनिधिसभा, प्रदेश सभा र स्थानीय तहका निर्वाचनमा राष्ट्रिय पर्यवेक्षण गर्दै आएको छ। यस पटक पनि देशभरका विभिन्न २१ जिल्लामा १०० जनाभन्दा बढी पर्यवेक्षकमार्फत् निष्पक्ष तथा पारदर्शी निर्वाचन सुनिश्चित गर्न योगदान पुऱ्याउने पहलको प्रतिबद्धता छ।
राष्ट्रिय व्यवसायिक पहलले जिम्मेवार व्यावसायिक अभ्यास प्रवर्द्धन, संस्थागत सामाजिक उत्तरदायित्व, दिगो विकास, आचार संहिता निर्माण तथा परिपालना जस्ता संस्थाका आधारभूत मान्यतालाई निरन्तता दिँदै निजी क्षेत्रको क्षमता विकास, व्यवसाय तथा मानव अधिकार, विपद् व्यवस्थापन लगायत औद्योगिक व्यावसायिक वातावरण निर्माणमा सहयोग पुयाउने समसामयिक विषयहरुमा बहस पैरवीमा सक्रिय हुँदै आइरहेको छ।