काठमाडौं। कांग्रेस महामन्त्री एवं काठमाडौं ५ का प्रतिनिधिसभा उम्मेदवार प्रदीप पौडेललाई वरिष्ठ कलाकार नीर शाहले जितको शुभकामना दिएका छन्। बूढानीलकण्ठ नगरपालिका–६ खड्का टोलमा घरदैलोका क्रममा कलाकार शाहले पौडेललाई जितको शुभकामना दिएका हुन्।
भेटमा केही बेर समसामयिक भलाकुसारी गरेका शाहले जितको शुभकामना दिंदै ‘अल द बेस्ट’ भनेका थिए । महामन्त्री पौडेल काठमाडौं ५ का विभिन्न क्षेत्रमा मतदातमाझ घरदैलोमा सक्रिय छन्। यसक्रममा बुधबार उनले बुढानिलकण्ठ नगरपालिका ६ का भद्रकाली, खड्का टोल, इटालीटार, खड्का गाउँ, न्यू कोलोनी, गणेश चोक लगायतका ठाउँमा घरदैलो गरेका थिए।
यसैगरी, बूढानीलकण्ठ–४ का शिव मन्दिर, सुनाखरी टोल, चपली कार्की गाउँलगायतका ठाउँमा घरदैलो गरेका थिए । त्यसक्रममा उनले विकास निर्माणका क्षेत्रमा पुर्याएको योगदान तथा स्वास्थ्य मन्त्रीका रुपमा अघि बढाएका सुधारका काम सकारात्मक भएको भन्दै मतदाताले जितका लागि शुभकामना दिए।
उम्मेदवार पौडेलले विगतमा इमानदारीसाथ क्षेत्र र राष्ट्रिय मुद्दामा सक्रियतापूर्वक काम गरेको भन्दै अलपत्र रिङरोडको कामलाई गति दिन, मेलम्ची खानेपानीको सुधार तथा विस्तार, विष्णुमति करिडोरलगायतका काम क्षेत्रमा अघि बढेको र सांसद तथा मन्त्रीका रुपमा स्वास्थ्य सुधारमा काम गरेको बताए।
उनले आगामी दिनमा पनि क्षेत्रका विकासका मुद्दाका साथै देशलाई समृद्धितर्फ लैजान इमानदारीका साथ लागिपर्ने प्रतिबद्धता उनले जनाएका थिए।