काठमाडौं। झापा प्रहरीले सरकारी छाप र दस्तखत किर्ते गरी ठगी गर्ने ६ भारतीय र एक नेपाली गिरोहलाई पक्राउ गरेको छ। झापा प्रहरीले भद्रपुर नगरपालिका– ८ को एयरपोर्ट–घोडामारा सडक खण्डबाट दुई वटा भारतीय विलासी गाडीसहित ६ जना भारतीय र एक जना नेपाली नागरिकलाई पक्राउ गरेको केन्द्रीय प्रहरी समाचार कक्षले जनाएको छ।
सशस्त्र प्रहरी बलको टोलीले शंकास्पद अवस्थामा चन्द्रगढीबाट काँकडभिट्टातर्फ जाँदै गरेका डब्लूबी ०६ एक्स ०३०० नम्बरको टोयोटा फच्र्युनर र डब्लूबी ०६ यू ३००६ नम्बरको सुजुकी बलेरो गाडीलाई चेकजाँच गर्दा उक्त गिरोह पक्राउ गर्न सफलता पाएको हो।
पक्राउ पर्नेमा पश्चिम बंगालका अरिन्दम धर (४५ वर्ष), दीपा भौमिक (३६ वर्ष), सुमन सरकार (३५ वर्ष), नुर कलाम शेख (३७ वर्ष), अबेद अली होसैन (५२ वर्ष) र फारुक अज्मी (२० वर्ष) रहेका छन्। उनीहरूसँगै झापा कमल गाउँपालिका–६ का ४३ वर्षीय देवेन्द्र सापकोटा पनि पक्राउ परेका छन्।
पक्राउ परेकामध्ये अरिन्दम धरको साथबाट आन्तरिक राजस्व विभागको नक्कली दर्ता प्रमाणपत्र, कर चुक्ता प्रमाणपत्र, भन्सार विभागको कागज र नेपाल सरकारको निशाना छाप भएको स्ट्याम्प बरामद भएको छ। गिरोहका सदस्य सुमन सरकारको साथबाट सञ्जयकुमार गिरी को नाममा बनाइएको नेपाल प्रहरीको प्रहरी वरिष्ठ नायव निरीक्षक (सई) को नक्कली परिचयपत्रसमेत फेला परेको छ।
प्रहरीको प्रारम्भिक अनुसन्धानअनुसार यो गिरोहले ब्ल्याक मनी वा ठूलो वैधानिक रकम जफत भएको नाटक गरी मानिसलाई ठग्ने योजना बनाउँदै आएको थियो। उनीहरूले नोटको आकारका सादा कागजका २३७ वटा बन्डल बनाएर त्यसको माथि र तल मात्रै सक्कली नोट राखी फोटो र भिडियो खिचेर मानिसलाई प्रलोभनमा पार्ने गरेको प्रहरी निष्कर्ष छ।
उनीहरूले मेचीनगर–४ स्थित एक होटलमा डेढ महिनाअघि नै २१ वटा टिनका बाकसमा यस्ता कागजका बन्डल राखेर भिडियो सुट गरेका थिए। उक्त भिडियो देखाएर व्यापारीलाई फसाउँदै आएका थिए। जिल्ला प्रहरी कार्यालय झापाका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक (डीएसपी) खगेन्द्रबहादुर खड्काका अनुसार पक्राउ परेका व्यक्तिले नेपाल र भारतका सीमा क्षेत्रमा लामो समयदेखि स्क्याम चलाउँदै आएका थिए।