काठमाडौं। किंग्स कलेजअन्तर्गत सञ्चालन हुँदै आएको ओथारो इन्क्युबेसन कार्यक्रमको पाँचौं कोहोर्ट आजदेखि औपचारिक रूपमा सुरु भएको छ। ओथारो इन्क्युबेसन कार्यक्रममा छनोट भएका १२ स्टार्टअपले आगामी ६ महिनामा आफ्ना प्रारम्भिक प्रोटोटाइप वा पहिलो चरणका परियोजनालाई विकासको नयाँ स्तरमा लैजाने तयारी पूरा गरेको आयोजक किंग्स कलेजले जनाएको छ।
कार्यक्रमले उद्यमशीलता प्रवर्द्धन तथा नेपालको स्टार्टअप इकोसिस्टमलाई सुदृढ बनाउने आफ्नो दीर्घकालीन प्रतिबद्धतालाई पुनः पुष्टि गरेको कलेजको भनाइ छ।
किंग्स कलेजस्थित ओथारो इन्क्युबेसन कार्यक्रमद्वारा सहजीकरण गरिनेछ। ६ महिनाको इन्क्युबेसन कार्यक्रम नवउद्यमीलाई आफ्ना नवीनतम सोच र अवधारणालाई लाभदायी तथा विस्तारयोग्य व्यावसायिक उद्यममा रुपान्तरण गर्न सहयोग पुर्याउने उद्देश्यले तयार गरिएको हो।
छनोट भएका स्टार्टअपमा मिस्टर वाफल्स, टुमलेट गेम्स, एथर सोसल ल्याब, स्टुडियो ब्रिटान्ता, नाँलेजएपलगायत निरन्तर सिकाइ कार्यशाला, कोचिङ सेसन, पुनरावृत्त व्यवसाय मोडल विकास, आवश्यकता–आधारित मार्गदर्शन तथा क्षेत्रविशेषमा वित्तीय पहुँच र नेटवर्किङ अवसरमा सहभागी हुनेछन्।
त्यसैगरी, ई–सहारा, परामेन्डो नेपाल, लेक्साना, द नेपाल न्यूजलेटर, यार्सा एग्रो रिसर्च, सानो इन्जिनियर र सम्पर्क डिजिटल लयल्टीजस्ता अन्य छनोट भएका स्टार्टअपलाई पनि सुदृढ व्यावसायिक मोडल विकास गरी भविष्यमा विस्तार तथा तीव्र वृद्धिका लागि आवश्यक योजना निर्माणमा सहयोग प्रदान गरिनेछ।
किंग्स कलेजका अनुसार प्रारम्भिक चरणका स्टार्टअपलाई दिगो विकासका लागि आवश्यक सीप, सोच, उपकरण र सञ्जाल उपलब्ध गराउने संरचित यात्राको थालनी हो।
‘प्रारम्भिक चरणमै प्राप्त हुने सहयोग र उपयुक्त वातावरणले स्टार्टअपको यात्रालाई महत्त्वपूर्ण रूपमा प्रभावित गर्न सक्छ’, किंग्स कलेजका इन्क्युबेसन अफिसर योमु वज्राचार्यले भने, ‘ओथारोमार्फत हामी उदाउँदा संस्थापकहरूलाई दिगो रूपमा अघि बढ्न आवश्यक मार्गदर्शन, उत्तरदायित्व र सहकार्ययुक्त समुदाय उपलब्ध गराउने प्रयासमा छौँ।’
सन् २०१३ मा स्थापना भएदेखि ओथारो इन्क्युबेसन कार्यक्रमले ५० भन्दा बढी उद्यमलाई सहयोग पुर्याइसकेको छ, जसले नेपालको बढ्दो उद्यमशीलता इकोसिस्टमको विकास र सुदृढीकरणमा महत्त्वपूर्ण योगदान पु¥याएको छ।
ओथारो एक समग्र ६ महिनाको इन्क्युबेशन कार्यक्रम हो, जुन प्रोटोटाइप विकास गरिसकेका वा बिक्री प्रक्रिया सुरु गरिसकेका स्टार्टअप तथा प्रारम्भिक चरणका उद्यमका लागि लक्षित छ, जसले रणनीतिक स्पष्टता र दिगो विस्तारको खोजी गरिरहेका छन्।
संरचित मार्गदर्शन, उपलब्धि–आधारित प्रगति अनुगमन तथा व्यावहारिक सहकार्यमार्फत कार्यक्रमले संस्थापकलाई आफ्नो व्यवसायिक मोडल परिष्कृत गर्न र विकासको आगामी चरणका लागि तयार हुन सहयोग गर्दछ।
ओथारो इन्क्युबेशन कार्यक्रममा सहभागी स्टार्टअपले ६ महिने अवधिभन्दा बाहिरसम्म प्रभाव पार्ने रुपान्तरणकारी उपलब्धि हासिल गर्ने अपेक्षा गर्न सक्छन्। कार्यक्रमले आधारभूत रणनीति, सञ्चालन संरचना र दीर्घकालीन दृष्टिकोणलाई सुदृढ गर्दै दिगो तथा विस्तारयोग्य व्यवसाय विकासमा सहयोग पुर्याउँछ।
यसका अतिरिक्त योग्य टोलीले वित्तीय पहुँच प्राप्त गर्न सक्नेछन्, जसले उनीहरूलाई व्यवसाय विस्तार तथा सञ्चालन क्षमताको वृद्धिमा तीव्रता ल्याउन सहयोग गर्नेछ। वित्तीय पहुँचबाहेक कार्यक्रमले अनुभवी मार्गदर्शक, इकोसिस्टम नेतृत्वकर्ता, वित्तीय संस्था तथा उद्योग सरोकारवालासँग उद्यमीलाई जोड्दै सञ्जाल विस्तार, सहकार्य र साझेदारीका अवसर सिर्जना गर्दछ।
ओथारोले यस्ता सम्बन्ध र संरचित सहयोगमार्फत नेपालभित्र विस्तार गर्न सक्षम तथा क्षेत्रीय र अन्तर्राष्ट्रिय बजारमा अवसर खोज्न सक्ने सुदृढ स्टार्टअप निर्माण गर्ने लक्ष्य राखेको छ।