काठमाडौं। इजरायल र इरानबीच युद्ध भएसँगै खाडी क्षेत्रको सुरक्षामा गम्भिर संकट देखिएको छ। दुई देशबीचको युद्धसँगै चिन्ता बढेको छ।
यसले खाडी मुलुकमा कार्यरत लाखौँ विदेशी श्रमिकसँगै नेपालीलाई समेत चिन्तित बनाएको छ। खाडी मुलुकमा मात्रै १९ लाखभन्दा बढी नेपाली कार्यरत रहँदै आएका छन्।
इजरायल र अमेरिकाले शनिबार इरानमा आक्रमण गरेको हो। त्यसको बदलामा इरानले अमेरिकी लक्षित आक्रमण सुरु गरेको छ। अमेरिकाको खाडीको कतार, साउदी अरब, बहराइन, कुवेत, संयुक्त अरब इमिरेट्स (युएई), ओमानमा आफ्नो सैन्य बेस क्याम्प छ।
यी देशमा मात्रै १९ लाखभन्दा नेपाली कामको शिलशिलामा रहेका छन्। सबैभन्दा बढी युएईमा ९ लाख, साउदी अरबमा ३ लाख ८४ हजार, कतारमा ३ लाख ६० हजार, कुवेत १ लाख ७५ हजार, बहराइन ३० हजार नेपाली छन्।
इरानले कतार, साउदी, बहराइन, युएई र कुवेतमा रहेका अमेरिकी सैन्य क्याम्पमा आक्रमण सुरु गरेको छ। युएईको राजधानी आबुधाबी र दुबईमा आक्रमण हुँदा एक जनाको मृत्यु भएको जनाएको छ। मृत्यु हुनेमा एसियाली नागरिक रहेको समाचारमा जनाइएको छ।
युएईले आफ्नो नागरिक र आप्रवासीको सुरक्षालाई उच्च प्राथमिकतामा राखेको जनाएको छ। कतारको आप्रवासी श्रमिक बस्ने वरुवा सिटीको एक भवन विस्फोट भएको छ। त्यसमा कुनै मानवीय क्षति नभएको अलजजिराले जनाएको छ।
खाडीमा युद्ध चर्किएसँगै परराष्ट्र मन्त्रायलले सुरक्षा चुनौतीको नजिकबाट अनुगमन गरिरहेको जनाउँदै नेपाली नागरिकलाई बढी सावधानी अपनाउन आग्रह गरेको छ।