काठमाडौं। अमेरिका र इजरायलले संयुक्त आक्रमणमा परी इरानको एक विद्यालयमा १०८ जनाको मृत्यु भएको सञ्चार माध्यमले जनाएको छ। इरानभर भएका हवाई आक्रमणमा परी कम्तीमा २०१ जनाको मृत्यु हुँदा करिब एक हजार जना घाइते भएका छन्।
इजरायल र अमेरिकाबाट भने विद्यालयमा आक्रमण भएको पुष्टि गरेकोे छैन। उक्त विद्यालय इरानको इस्लामिक रिभोल्युशनरी गार्ड कोर (आईआरजीसी)को क्याम्पबाट करिब ६०० मिटर नजिकै थियो।
बीबीसीका अनुसार विस्फोटपछिको अवस्थासम्बन्धी केही भिडियो क्लिपहरू प्रमाणीकरण गरेको जनाएको छ। जसमा एक भवनबाट धुँवा उडिरहँदा वरिपरि मानिसहरूको भीड लागेर चिच्याइरहेका छन्।
इरानमाथि आक्रमणसँगै मध्यपूर्वमा तनाव बढेको छ। खासमा खाडी मुलुकमा रहेका अमेरिकी अड्डालाई इरानले निशाना बनाउँदा उक्त क्षेत्रमा तनाव उत्पन्न भएको हो।
इरानले बहराइन, कतार, कुवेत, यूएई, साउदी अरब, जोर्डनलगायतका देशमा भएका अमेरिकी हवाई अड्डामा आक्रमण गरेको इरानी सञ्चार माध्यमले जनाएका छन्।
आक्रमणपछि सम्बन्धित देशका सरकार र ती देशमा रहेका नेपाली दूतावासहरूले अलग अलग सूचना जारी गर्दै अवस्था सामान्य नहुन्जेल अनावश्यक रूपमा घरबाहिर ननिस्कन आह्वान गरेका छन्।
काठमाडौंस्थित परराष्ट्र मन्त्रालयले पनि एक विशेष ‘ट्राभल एडभाइजरी’ जारी गर्दै इजरायल र इरानमा रहेका नेपालीहरूलाई घरभित्रै बस्न आग्रह गरेको थियो।