काठमाडौं। राष्ट्रिय व्यवसायिक पहल (NBI) गत भदौमा घटेको जेन्जी आन्दोलन पश्चात असाधारण परिस्थितिमा गठन भएको अन्तरिम सरकारको नेतृत्वमा सफलतापूर्वक सम्पन्न भएको प्रति सन्तोष व्यक्त गरेको छ।
पूर्व प्रधानन्यायाधीश सुशिला कार्कीको नेतृत्वमा गठन भएको अन्तरिम सरकारले राजनैतिक अस्थिरता, असहमति र सुरक्षा चुनौतीका बीच पनि आफ्नो मुख्य जिम्मेवारी निर्वाह गरी मुलुकभरका १६५ वटै क्षेत्रमा स्वतन्त्र र निष्पक्ष निर्वाचन सम्पन्न गराएकोमा प्रशंसासहित प्रधानमन्त्रीलगायत मन्त्रिपरिषद्प्रति हार्दिक आभार व्यक्त गरेको जनाएको छ।
यस ऐतिहासिक उपलब्धिमा निर्वाचन आयोगको कुशल नेतृत्व, सम्पूर्ण निजामती कर्मचारीको समर्पण र नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, राष्ट्रिय अनुसन्धान विभाग तथा नेपाली सेना गरी चारवटै सुरक्षा निकायको समन्वय र सहकार्य उल्लेखनीय रहेको छ।
राष्ट्रिय व्यवसायिक पहलले यस ऐतिहासिक निर्वाचनमा स्वतन्त्र पर्यवेक्षकको रूपमा महत्वपूर्ण भूमिका निर्वाह गरेको छ। हामीले मुलुकभरका विभिन्न निर्वाचन क्षेत्रमा ११० भन्दा बढी पर्यवेक्षक परिचालन गरी मतदान प्रक्रिया, मतगणना र समग्र निर्वाचन व्यवस्थापनको अनुगमन गरेको थियो।
हाम्रा पर्यवेक्षकहरूले निर्वाचनको पारदर्शिता, सुरक्षा व्यवस्था र निष्पक्षतालाई प्रत्यक्ष रूपमा अवलोकन गरेका छन्। हाम्रो अवलोकनले छिटपुट घटना बाहेक समग्रमा निर्वाचन शान्तिपूर्ण र व्यवस्थित रूपमा सम्पन्न भएको पुष्टि गर्दछ।
दीगो शान्ति स्थापना, आर्थिक स्थायित्व र समृद्धिको लागि कार्यरत राष्ट्रिय व्यवसायिक पहलले नव निर्वाचित सरकारबाट भ्रष्टाचार न्युनिकरण, पारदर्शीता र सुशासनद्वारा मुलुकलाई स्थायित्व र समृद्धितर्फ डोयाउनेछ भन्ने दृढ अपेक्षा राख्दछ।
मुलुकको दिगो विकास र समृद्धिका लागि समाज र व्यवसाय एकअर्कामा निर्भर छन्।
सफल समाजबिना व्यवसाय सफल बन्न सक्दैन, सफल व्यवसायबिना समाज सफल बन्न सक्दैन भन्ने नारासहित क्रियाशील NBI ले नव निर्वाचित सरकारसँग भ्रष्टाचार नियन्त्रण, कानुनको शासन, पारदर्शिता, सुशासन र आर्थिक विकासका मुद्दामा रचनात्मक संवाद र सक्रिय सहकार्य गर्दै अघि बढ्ने दृढ प्रतिबद्धता व्यक्त गर्दछ।