काठमाडौं। नेपाल टेलिकम दूरसञ्चार कार्यालय भरतपुरले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को महाधिवेशनमा सहभागी हुने सेवाग्राहीको चापलाई मध्यनजर गर्दै दूरसञ्चार सेवाको क्षमता विस्तार गर्ने भएको छ। भरतपुरस्थित मुख्य टावर तथा आसपासका अन्य टावरमा विशेष एन्टेना र अतिरिक्त उपकरण जडान गरी नेटवर्क क्षमता वृद्धि गरिएको कार्यालयले जनाएको छ।
कार्यालयका निमित्त प्रमुख चन्दनकुमार झाका अनुसार आगामी ७ गते हुने महाधिवेशनको उद्घाटन समारोहमा ठूलो सङ्ख्यामा सहभागी हुने अनुमान भएकाले सेवा अवरुद्ध नहोस् भन्ने उद्देश्यले पूर्वतयारी गरिएको हो।
उनले रास्वपा महाधिवेशन मात्र नभई यहाँ हुने अन्य भीडभाड तथा मेला महोत्सवका समयमा पनि सधैँ क्षमता विस्तार गरिँदै आएको बताए। उनले भीडभाडका समयमा फोन नलाग्ने, ‘कल ड्रप’ हुने तथा डेटा सेवा प्रभावित हुन सक्ने सम्भावनालाई ध्यानमा राख्दै अतिरिक्त उपकरण जडान गरिएको बताए।
“सेवाग्राहीले कुनै समस्या भोग्न नपरोस् भनेर हामीले आवश्यक पूर्वतयारी गरेका छौँ,” उनले भने। झाका अनुसार मुख्य टावर र आसपासका टावरमा सेक्टर एन्टेना थपिनाका साथै अतिरिक्त आरआरयू जडान गरिएको छ।
“यी उपकरण जडानपछि फोन सम्पर्क र डेटा सेवामा समस्या आउने सम्भावना न्यून हुन्छ,” उनले थपे। उनले टावरको क्षमता विस्तार गरिएकाले महाधिवेशनका क्रममा नेटवर्कमा चाप बढे पनि सेवा सञ्चालन सहज हुने विश्वास व्यक्त गरे।
“आजकल अधिकांश प्रयोगकर्ताले डेटा सेवा प्रयोग गर्नुहुन्छ र मोबाइलमार्फत निरन्तर सम्पर्कमा रहनुहुन्छ। त्यसैले सम्भावित गुनासो आउन नदिन पहिल्यै तयारी गरेका हौँ,” उनले भने। निमित्त प्रमुख झाका अनुसार आफ्नो कार्यक्षेत्रभित्र हुने ठूला सभा, सम्मेलन तथा भीडभाड हुने कार्यक्रमहरूमा आवश्यकताअनुसार प्राविधिक उपकरण तथा ‘एन्टेना’ जडान गरी सेवा क्षमता बढाउने गरिएको छ।
उनका अनुसार सेवाग्राहीलाई गुणस्तरीय सेवा उपलब्ध गराउनु कार्यालयको प्राथमिकता हो।