काठमाडौं। २०७९ सालको प्रतिनिधि तथा प्रदेशसभा निर्वाचनको तुलनामा फागुन २१ गते सम्पन्न प्रतिनिधिसभाको निर्वाचन अपेक्षाकृत शान्तिपूर्ण र प्रभावकारी सुरक्षा व्यवस्थापनसहित सम्पन्न भएको छ। यस निर्वाचनमा सुरक्षा अवस्था, झडपका घटनाहरू, मानवीय क्षति, मतदान व्यवस्थापन र समग्र निर्वाचन प्रक्रिया संचालनका दृष्टिले उल्लेखनीय सुधार देखिएको छ।
२०७९ को निर्वाचनका क्रममा देशका विभिन्न जिल्लामा राजनीतिक दलका कार्यकर्ता तथा समर्थकबीच थुप्रै झडपका घटनाहरू भएका थिए, जसका कारण कतिपय स्थानमा मतदान स्थगित गर्नुपर्ने अवस्था समेत सिर्जना भएको थियो।
सोही क्रममा बाजुरामा २ जना र कालिकोटमा २ जना गरी ४ जनाको मृत्यु समेत भएको थियो भने ईलाम, सप्तरी, दोलखा, दाङ, नवलपरासी पश्चिम, हुम्ला, दार्चुला, ललितपुर, तनहुँ, म्याग्दी, खोटाङ र भोजपुरमा गरी २३ जना मानिस घाइते भएका थिए ।
यस्तै, ताप्लेजुङ, ईलाम, भोजपुर, उदयपुर, सिरहा, कास्की, नवलपरासी पश्चिम, दाङ, दैलेख, मुगु, दार्चुला लगायतका जिल्लामा विष्फोटक पदार्थ राखेर निर्वाचन प्रक्रिया विथोल्ने प्रयास भएका थिए भने ताप्लेजुङ, ओखलढुंगा, सप्तरी, चितवन, धादिङ, सिन्धुली, रामेछाप, दोलखा, सिन्धुपाल्चोक, गोरखा, कास्की, तनहुँ, म्याग्दी, गुल्मी, अर्घाखाँची, रुकुम पश्चिम, सुर्खेत, दैलेख, जाजरकोट, हुम्ला, कालिकोट, जुम्ला, डोल्पा, कञ्चनपुर, डडेल्धुरा, दार्चुला, बझाङ, कैलाली र ललितपुरमा गरी ५० स्थानमा झडपका घटनाहरू भएका थिए।
यसबाहेक, उदयपुर, दोलखा र सिन्धुपाल्चोकमा बुथ कब्जा हुनुका साथै देशभर ६२ मतदान स्थलमा निर्वाचन कार्य अवरुद्ध हुन पुगेको थियो।
यसैबीच, २०८२ फागुन २१ गतेको निर्वाचनमा सुरक्षा व्यवस्थापन चुस्त, दुरुस्त र व्यवस्थित भएका कारण समग्र निर्वाचन प्रक्रिया शान्तिपूर्ण वातावरणमा सम्पन्न हुन सफल भएको हो। मतदान केन्द्रहरूमा सुरक्षाकर्मीको उपस्थितिलाई व्यवस्थित, सक्रिय र प्रभावकारी बनाइएपछि कुनैपनि स्थानमा ठूलो झडप वा हिंसात्मक घटना हुनबाट जोगिएको हो।
मतदानको क्रममा कतिपय स्थानमा सामान्य विवाद उत्पन्न भए पनि सुरक्षामा खटिएका प्रहरीले संयमित र प्रभावकारी रूपमा तत्कालै स्थिति नियन्त्रणमा लिए, जसले गर्दा मतदान प्रक्रिया सौहार्दपूर्ण वातावरणमा समयमै सम्पन्न हुन मद्दत पुग्यो।
विशेषगरी जेनजी आन्दोलनको समयमा अप्रत्यासित क्षति ब्यहोर्न पुगेको नेपाल प्रहरीको खस्किएको मनोबल, लुटिएका हतियार र कारागारबाट फरार कैदिबन्दीको बिषयलाई लिएर अनेकौँ शंका उत्पन्न भएको अवस्थामा समेत प्रहरी महानिरीक्षक दान बहादुर कार्कीको नेतृत्वमा नेपाल प्रहरी उच्च मनोबल र समर्पणका साथ निर्वाचन सुरक्षामा खटिएको थियो।
सातै प्रदेशमा प्रहरी अतिरिक्त महानिरीक्षकहरू परिचालन गरी संवेदनशील जिल्लाहरूमा माथिल्लो दर्जाका अधिकृतहरूको अनुगमन र सुपरीवेक्षण सुनिश्चित गरिएकोले सुरक्षा व्यवस्था थप मजबुत हुन पुगेको हो। मानवीय क्षतिको दृष्टिले पनि २०७९ को तुलनामा २०८२ को निर्वाचन अत्यन्तै शान्तिपूर्ण देखिएको छ।
गत निर्वाचनमा देशका विभिन्न स्थानमा मानिसको मृत्यु र घाइते भएका घटनाहरू सार्वजनिक भएका थिए भने हालै सम्पन्न निर्वाचनमा त्यस्ता अप्रिय घटना दोहोरिन पाएनन्। मतदान स्थगन र पुनः मतदानको सन्दर्भमा पनि गत निर्वाचनको तुलनामा यस निर्वाचनमा उल्लेखनीय सफलता प्राप्त भएको छ।
कतिपय स्थानमा प्राविधिक समस्या वा स्थानीय विवादका कारण अस्थायी अवरुद्धता भए पनि मतदान स्थगित भई पुनः मतदान हुने अवस्था सिर्जना नभई देशभर एकैसाथ निर्वाचन सम्पन्न भएको थियो।
अघिल्ला निर्वाचनका अनुभव, सुरक्षा निकायहरूको प्रभावकारी समन्वय, मतदाता तथा राजनीतिक दलको सचेतना र निर्वाचन व्यवस्थापनका समग्र पक्षमा गरिएको सुधारले २०८२ फागुन २१ गतेको निर्वाचनलाई तुलनात्मक रूपमा इतिहासकै व्यवस्थित र शान्तिपूर्ण निर्वाचनका रूपमा स्थापित गरेको छ।
विशेषगरी प्रहरी महानिरीक्षक दानबहादुर कार्कीको रणनीतिक नेतृत्व, नेपाल प्रहरीको अनुशासित, समर्पित परिचालन र दूरदर्शी सुरक्षा योजनाले निर्वाचनलाई भयरहित वातावरणमा सम्पन्न गराउन निर्णायक साबित भएको छ। यसले नेपालको लोकतान्त्रिक अभ्यासलाई सुदृढ बनाउन नेपाल प्रहरीको व्यावसायिकता, प्रतिबद्धता र नेतृत्वको सशक्त उदाहरण प्रस्तुत गरेको छ।